एजेन्सी । समयभन्दा अगावै वा कम तौलको साथ जन्मेका शिशुहरूमा उमेर बढ्दै जादा बौद्धिक स्तर कम हुने सम्भावना बढी हुन्छ ।
वारविक विश्वविद्यालयका विशेषज्ञहरूले गर्भावस्थाको ३७ देखि ४१ हप्तामा जन्मका र २८ देखि ३२ हप्तामा जन्मेका बच्चा तथा कम तौल भएका शिशुको पछिल्ला आठ अध्ययनको तथ्याङ्कसँग तुलना गरेका थिए । अध्ययनमा गर्भावस्थाको पूर्ण अवधिमा जन्मेका शिशुको तुलनामा समयभन्दा पहिले वा कम तौलका साथ जन्मेका बच्चाहरू ठूलो हुँदा उनीहरूको बौद्धिक स्तर १२ अङ्कले कम हुने सम्भावना रहेको पत्ता लागेको हो ।
समयभन्दा अगावै वा कम तौलका साथ जन्मेका शिशुहरूमा उनीहरूको शिक्षा बढाउन थप शैक्षिक सहयोग चाहिनसक्ने अनुसन्धानकर्ताको भनाइ छ । दुई हजार एक सय ३५ जना बच्चामा गरिएको अध्ययनमा एक हजार ६८ जना बच्चा समयभन्दा अगावै वा कम तौलको साथ जन्मेका थिए भने एक हजार ६७ जना बच्चा पूर्ण अवधिमा जन्मेका थिए ।
यी बच्चाहरूको १८ वर्षदेखि ३० वर्षसम्म बौद्धिक स्तर जाँच गरिएको थियो । समयभन्दा अगावै वा कम तौलको साथ जन्मेका शिशुहरूमा औसत बौद्धिक स्तर अङ्क ८८ रहेको पाइयो अर्थात् पूर्ण अवधिमा जन्मेको शिशुको तुलनामा १२ अङ्क कम प्राप्त गरेको अध्ययनले देखाएको हो ।