काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तीन वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।
बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएपनि लगातार झरी पर्ने अवस्था नरहेको मौसमविद्ले बताएका छन् ।
आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने मौसमविद् वरुण पौडेलले बताए ।
उनका अनुसार अरु प्रदेशमा मौसम सफा रहनेछ । तराईमा हिजो अस्ति जस्तै चर्को घाम लाग्नेछ । तराई÷मधेसमा गर्मीले जनजीवन प्रभावित भएको छ । अहिले देशैभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
पर्सिदेखि भने मौसममा केही फेरबदल हुन सक्ने सम्भावना रहेको छ । मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले काठमाण्डौ उपत्यकासहित देशभर नै मौसम सफा रहेको छ ।