काठमाडौं । प्रजननको लागि पाठेघर निकै महत्वपूर्ण अंग हो । पाठेघरविना सन्तान उत्पादन गर्न सम्भव छैन । यद्यपी सन्तान उत्पादनको लागि पाठेघर मात्र जिम्मेवार छैन । अण्डाशय, शुक्रकिट, पाठेघरको समान भूमिका रहन्छ । महिनावारी हुनुमा पनि पाठेघरको अहम भूमिका हुन्छ । जन्मदा सामान्य हुने पाठेघर बढ्दो उमेरसँगै विकशित हुँदै जान्छ ।
पाठेघर हाम्रो पेल्भिक क्याभिटीभित्र मूत्रथैलीको पछाडि, मलाशयको अगाडि हुन्छ। यसलाई मांसपेसी र लिगामेन्टले पेल्भिक क्याभिटीमा अड्याएर राख्न मद्दत गर्छ । महिलाहरूले पाठेघरका लागि पनि विशेष ध्यान दिन आवश्यक छ ।
- पाठेघरलाई स्वस्थ राख्न हरेक दिन प्राणायाम आवश्यक छ जसमध्ये कपालभाती प्राणायाम सर्वाधिक महत्वपूर्ण मानिन्छ । पाठेघर सुन्निएको बेला, रजस्वला भएको बेला, आङ झरेको बेला कपालभाती प्राणायाम गर्दा गतिमा नियन्त्रण राख्नु आवश्यक छ । गर्भावस्थामा कपालभाती प्राणायाम, बाह्य प्राणायाम, अग्निसारक्रिया आदि गर्नु हुँदैन ।
- गर्भवती महिलाले पाठेघरलाई स्वस्थ बनाउन भस्त्रिका, उज्जयी, अनुलोम–विलोम, भ्रामरी, प्रणव आदि प्राणायाम गर्नु फाइदाजनक हुन्छ । यसबाट पाठेघरमा हुने सम्भावित विकारबाट जोगिन सकिन्छ ।
- पाठेघरलाई बलियो बनाउन सूर्य नमस्कारका साथै सुस्त गतिमा मार्जारी आसन, सर्वाङ्गासन, गोमुखासन, हलासन आदि गर्न सकिन्छ । किशोरीहरूलाई शीर्षासन एवं पश्चिमोत्तानासन लाभदायक हुन्छ ।