काठमाडौँ। नेपालमा दैनिक प्रयोग हुने सिन्दूर, टुथपेस्ट (मञ्जन) र गाजलमा विषालु सिसा (लेड) को गम्भीर प्रदूषण रहेको एक अध्ययनले देखाएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले सार्वजनिक गरेको अध्ययनअनुसार परीक्षण गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको छ।
अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलबाट संकलन गरिएका ३१ टुथपेस्ट, ४० सिन्दूर र २९ गाजलको नमुना ‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ विधिबाट परीक्षण गरिएको थियो। अध्ययनअनुसार सिन्दूर सबैभन्दा उच्च जोखिमयुक्त देखिएको छ। परीक्षण गरिएका सिन्दूरमध्ये ४० प्रतिशत (१६ नमुना) मा सिसा भेटिएको छ, जसमा केही नमुनामा १२४.७३ पीपीएमसम्म सिसा पाइएको छ।
टुथपेस्टका कुल ३१ नमुनामध्ये ४५.१६ प्रतिशत (१४ नमुना) मा सिसा भेटिएको छ। बालबालिकाका लागि भनेर बिक्री गरिएका केही टुथपेस्टमा समेत ५१.२८ पीपीएमसम्म सिसा पाइएको अध्ययनले देखाएको छ। गाजलका २९ नमुनामध्ये ३.४५ प्रतिशत (१ नमुना) मा सिसा भेटिएको छ, जुन आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले स्वास्थ्य जोखिम उच्च रहेको उल्लेख गरिएको छ।
प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४२.५ प्रतिशत नमुना सिसाले प्रदूषित पाइएका छन्। “हर्बल” वा “आयुर्वेदिक” भनेर बिक्री हुने तथा प्रख्यात ब्रान्डका उत्पादनहरूमा समेत सिसा भेटिनु गम्भीर जनस्वास्थ्य चुनौती भएको सरोकारवालाले बताएका छन्। विश्व स्वास्थ्य संगठनले सिसाको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरिसकेको भन्दै सरकारले कडा नियमन, नियमित परीक्षण र प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ।
