काठमाडौँ- नेपाल औषधी उत्पादक संघको आयोजनामा दशौं संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आगामी फागुन २८, २९ र ३० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
“फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्सपोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने उद्देश्यका लागि एक्स्पो राखिएको हो ।
यस पटकको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन गरिनेछ ।
एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ। जसले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्नेछन् । बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ ।
संघका अध्यक्ष विप्लव अधिकारीले विगतका अनुसन्धान तथा आविष्कार आजको औषधी उद्योगको आधार बनेको बताउँदै वर्तमानमा भइरहेको शतप्रतिशत नयाँ अनुसन्धान तथा विकास (आरएन्डडी) ले भविष्यका औषधीको सुनिश्चितता गर्ने बताए।
औषधी क्षेत्रबारे ज्ञान लिन इच्छुक सबैका लागि प्रवेश निःशुल्क रहने जनाइएको छ।
पत्रकार सम्मेलनमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्दै गुणस्तरीय तथा सहुलियत मूल्यमा नागरिकले औषधी पाउनुपर्ने सरकारको नीति रहेको बताए।
नेपाली बजारमा आधाभन्दा बढी हिस्सा स्वदेशी औषधीले ओगटेको बताउँदै प्रविधिगत नवप्रवर्तन र नवीकरणमार्फत नागरिकका अपेक्षा पूरा गर्नुपर्नेमा उनले जोड दिए। एक्स्पोको पहिलो दिन फागुन २८ गते बिहान ८ बजे प्रभातफेरिसहित औपचारिक उद्घाटन गरिने कार्यक्रम छ।