भाइरसको एउटा 'उद्देश्य' हुन्छ : सकेसम्म धेरै मानिसहरूमा फैलने जसका कारण उत्परिवर्तन हुनु सामान्य मानिन्छ।

''जीव विकासको दृष्टिकोणबाट हेर्दा भाइरसमा उत्परिवर्तन हुनुपर्छ ताकि यो धेरै मानिसमा पुगोस्। धेरै सहज रूपमा फैलने भाइरस सफल भाइरस हो,'' अक्सफर्ड विश्वविद्यालय ग्लोबल हेल्थ विषयका प्राध्यापक ट्रुडी ल्याङ् बताउँछीन्।

फ्लू, भाइरसमा परिवर्तन यति सामान्य छ कि प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी निकायहरूको सञ्जालले यसको समीक्षा गर्ने गर्छ।

टिटानस जस्ता अन्य रोगहरू पनि छन् जसका लागि जीवनभरि नै बुस्टर (थप) खोपको आवश्यकता पर्छ।

हामीलाई थाहै छ कोरोनाभाइरसका कम्तीमा चार वटा भेरिअन्ट विकास भइसकेका छन् जसमा भारतमा पहिलो पटक पहिचान भएको निकै धेरै सङ्क्रामक डेल्टा भेरिअन्ट पनि छ।

उक्त भेरिअन्टका कारण हाल युरोप, एशिया र अमेरिकामा सङ्क्रमण दर बढिरहेको छ।

तथ्याङ्कहरूका अनुसार खोप डेल्टा भेरिअन्टमा प्रभावकारी देखिएको छ।

पब्लिक हेल्थ इङ्गल्यान्डका अनुसार फेब्रुअरीदेखि जून महिनाबीच यो भेरिअन्ट लागेर अस्पताल पुगेका ८२ प्रतिशत मानिसहरूले या त खोप लगाएका थिएनन् या खोपको एक मात्रै मात्रा लगाएका थिए।

यद्यपि ब्रिटेनको न्याशनल हेल्थ सिस्टम (एनएचएस)ले जाडो मौसमअघि तीन करोड तेस्रो मात्रा वा ''बुस्टर'' लगाउने योजना बनाएको छ।

अमेरिकामा न्याशनल इन्स्टिच्यूट अफ हेल्थले बुस्टरले एन्टीबडी बढाउँछ/बढाउँदैन र लामो समय सम्म सुरक्षा दिन्छ/दिँदैन भन्ने कुरा पत्ता लगाउनका लागि खोपको पूर्ण मात्रा लगाइसकेकाहरूमा क्लिनिकल ट्रायल सुरु गरेको छ।

साँचो के हो भने कोभिड-१९ विरुद्धको खोपबाट विकास भएको प्रतिरोध प्रणालीले कति लामो समय काम गर्छ भन्ने कुरा वैज्ञानिकहरूलाई पनि थाहा छैन।

के लकडाउन सामान्य रूपमा भइरहन सक्छ?

सङ्क्रमण र अस्पतालमा भर्ना हुने दर बढेसँगै विभिन्न देश र क्षेत्रहरूले यात्रा र हिँडडुलमा प्रतिबन्ध लगाउनु परेको थियो।

यसले रोग फैलने क्रमलाई सुस्त पार्न मद्दत गरेको थियो भने स्वास्थ्य प्रणालीमा चाप घटाएको थियो। तर यसले अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको थियो। बेरोजगारी पनि बढेको थियो।

के अझै लकडाउन स्थानीय परिदृश्यका रूमा रही रहन सक्छ? यो खोप कार्यक्रमको सफलतामा भर पर्ने विज्ञहरू बताउँछन्।

पछिल्ला केही महिनाहरूमा हामीले स्थानीय स्तरमा गरिएका वा देशव्यापी रूपमा गरिएका पहलहरू देखेका छौँ। अस्ट्रेलियाले कैयौँ सहरहरूमा लकडाउन गरेको छ भने बाङ्गलादेशले देशव्यापी रूपमा लागु हुन गरी प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ।

''सम्भव भएसम्म प्रकोपलाई सम्बोधन गर्न क्रममा सरकारका लागि लकडाउन अत्यावश्यक अस्त्र बन्ने छ,'' सिटी युनिभर्सिटी अफ हङ्कङ्मा हेल्थ सेक्योरीटी विषयका सह प्राध्यापक निकोलस टमसले ब्लूम्बर्ग समाचार संस्थालाई भने।

के मैले मास्क लगाइरहनुपर्ने हुन्छ?

वैज्ञानिकहरूले खोप लगाएकाहरूको सङ्ख्या धेरै रहेका स्थानहरूमा समेत कोभिड-१९ सँग जुझ्ने विकल्पका रूपमा मास्कको प्रयोगको व्यापक रूपमा समर्थन गर्दै आएका छन्।

''यो प्रस्ट छ कि प्रत्येक पटक बढ्दा लकडाउन गरिरहन सकिँदैन,'' द युनिभर्सिटी अफ कोपनहेगनकी बिहेभिएरल साइन्टिस्ट क्रिस्टीना ग्राभर्ट भन्छिन्।

मास्कको प्रयोग केही एशियाली राष्ट्रहरूमा व्यापक छ। तर संसारका अन्य स्थानमा भने अवस्था त्यस्तो छैन।

अन्तर्राष्ट्रिय यात्राको अवस्था के होला?

हाल सरकारहरू भाइरसबाट आफ्ना सर्वसाधारणहरूलाई जोगाउने र सीमा बन्द गरिएका कारण भएको आर्थिक नोक्सानीकाबीच बाँडिएका छन्।

विभिन्न देशहरूको विभिन्न नियम छ र प्राध्यापक हेम्यान जस्ता विज्ञहरू उनीहरूको नजरमा खराब रूपमा गरिएको विश्वव्यापी संयोजनको आलोचना गर्छन्।

''समानुपातिक रूपमा खोप वितरण नभएका कारण डब्ल्यूएचओले 'खोप राहदानी' सिफारिस गर्दैन। तर मलाई लाग्छ की केही राष्ट्रहरूले यसको प्रयोग गर्नेछन्,'' उनले भने।

रोपेली सङ्घले डिजिटल कोभिड प्रमाणपत्र सार्वजनिक गरिसकेको छ जसले त्यहाँका नागरिक र बासिन्दाहरूले खोप लगाएको, नेगेटिभ रहेको परीक्षण नतिजा आफूसँग भएको वा हालसालै मात्रै रोगबाट निको भएको अवस्थामा सदस्य राष्ट्रहरूमा बिना कुनै रोक तोक घुम्न पाउने छन्।

खोप राहदानीलाई सङ्घका २७ वटै सदस्य राष्ट्रहरूले मान्यता दिएका छन्। त्यसबाहेक आइसल्यान्ड, नर्वे र स्विट्जरल्यान्ड पनि यसलाई मान्यता दिएका छन्।

तर विश्व भर एउटा देशबाट अर्को देश जाने विषयलाई कसरी व्यवस्थापन गरिने छ भन्ने कुरा भने हेर्नुपर्ने हुन्छ।

बीबीसी न्यूज नेपाली