काठमाडौं। देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ।
पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो।
यता देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।
यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।