काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस २५ गतेदेखि काठमाडौंका तीन जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिन शुरु गरेको छ । कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि खोप दिन शुरु गरेको हो ।
यसरी कोरोना खोपको बालबालिका लक्षित अभियान चलिरहँदा काठमाडौ महानगरपालिका २९ स्थित डिल्लीबजारमा रहेको पदमकन्या उच्च माध्यमिक विद्यालयले पनि आफ्ना विद्यार्थीहरुलाई कोरोनाको खोप दिइरहेको छ । उक्त खोप केन्द्रमा खोप लगाउन आएकी स्थाई घर दोलखा भएकी सरिना भण्डारी नेपाल सरकारले चलाएको बालबालिका लक्षित खोप अभियानले आफूलाइृ खुसी दिलाएको बताईन् ।
खोप नै कोरोना संक्रमणबाट बच्ने पहिलो उपाय भएकोले खोप लगाएपश्चात् आफू सुरक्षित भएको महसुस उनी बताउँछिन्। त्यस्तै पदमकन्या उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत अनिता तामाङ नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानले आफूलाई खुसी दिलाएको बताउछिँन् । खोप लगाएपछि आफूले सुरक्षित भएको महसुस गरेको बताउँदै उनले नेपाल सरकारलाई यो व्यवस्थाका लागि धन्यवाद व्यक्त गरिन्। उक्त विद्यालयमा मंगलबार र बुधबार गरि ६०० बिद्यार्थीले खोप लगाउने कलेज प्रशासनले महिला स्वास्थ्यलाई जानकारी दियो ।