मुखबाट दुर्गन्ध आउनु कुनै ठूलो रोग होइन, सामान्य समस्या हो । सयमा ९५ जना मानिसले आफ्नो जिवनकालमा कुनै न कुनै समयमा मुखबाट दुर्गन्ध आउने समस्या भोगेकै हुन्छन् । मुख गन्हाउनु केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन । मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुखदायी हुन्छ । किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहन्नन् र सधै टाढै रहन खोज्ने होनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ ।
स्वास गन्हाउनुका कारण
- मुखबाट दुर्गन्ध आउने दीर्घकालीन समस्याको मुख्य कारण पाचन क्रियाको गडबडी हो ।
- मोटोपना घटाउनका लागि खानामा कार्बोहाइड्रेट घटाइरहेको वा खानेकुराको मात्रा घटाइरहेको हुन्छौँ । लामो समयसम्म भोकै रहेको बेला, विहान अबेरमात्र खाना खाएको समयमा वा व्रत बसेको समयमा प्रायः मानिसको स्वास गन्हाउने हुन्छ ।
- मुखबाट दुर्गन्ध आउनेमध्ये ९० प्रतिशतमा यो समस्या देखिनुको कारण लापरवाही हो । दाँत किराले खानु, घाँटीको इन्फेक्सन तथा पिनास लगायतका स्वास्थ्य समस्याका कारण समेत मुखबाट दुर्गन्ध निस्किने गर्छ ।
- कामको धपेडी, लामो समयसम्म पानी नपिउनु, डराएको वा आत्तिएको अवस्था वा चर्को घाममा लामो समय हिँडडुल गर्दा मुख सुक्नु सामान्य हो । धुम्रपान, मदिरापान तथा धुवाँजन्य वातावरणमा लामो समय बस्दा समेत मुख सुख्खा हुन्छ । मुख सुख्खा हुनाले समेत मुखबाट दुर्गन्ध निस्किन्छ ।
मुख गन्हाउने समस्याबाट कसरी बँच्ने ?
- बिहान तथा बेलुकी गरि दिनको दुइ पटक राम्रोसँग दाँत माझ्ने । बेलुकीको खानामा सकेसम्म प्याज, लसुन, माछा, मासु जस्ता खानेकुराहरु कम खाने ।
- पर्याप्त पानी पिउने । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनु अत्यावश्यक हुन्छ ।
- बिहान लामो समयसम्म भोकै नबस्ने । पौष्टिक खाजा खाने ।
- मुखबाट बढि नै गन्ध आउँछ भने तुलसीको पात चपाएर रस निल्ने ।
- भोजनपछि आधा चम्चा सोँफ चपाउनु राम्रो हुन्छ । यसले दुर्गन्ध हटाउनुका साथै पाचन क्रियालाई समेत सुधार्छ । सुगर फ्रि चुइंगम चपाउनु पनि मुखको दुर्गन्ध कम गर्ने अर्को सजिलो उपाय हुनसक्छ ।
- मुखबाट दुर्गन्ध आउने समस्या बढि नै हुनथाल्यो भने दन्तचिकित्सक सँग चेकजाँच गराउनु उपयुक्त हुन्छ ।