काठमाडौं । सजिवन एक बहुपयोगी वृक्ष हो । सजिवनको बोटको सबै भागलाई हामी खानाका रुपमा, औषधी बनाउन र औद्योगिक काममा प्रयोग गर्न सक्छौं ।सजिवनलाई सब्जीको राजा नै मानिन्छ। सजिवनको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । सजिवनमा प्रचुर मात्रामा पोषक तत्व र भिटामिन हुन्छ । एक अध्ययनका अनुसार सजिवनमा दुधको तुलनामा चार गुणा पोटासियम तथा सुन्तलाको तुलनामा सात गुणा भिटामिन ‘सी’ पाईन्छ ।
सजिवनले मान्छेको शिरदेखि पाउसम्म उपचार गर्न सक्ने औषधीय गुण बोकेको हुन्छ । नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ ।
औषधीय गुण :
- सजिवनको पात सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ।
- हड्डी मजबुत बनाउन भूमिका खेल्छ।
- कोलेस्टेरोल लेबल र उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ।
- रुघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।
- गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ।
- छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ। छालासम्बन्धी संक्रमणबाट जोगाउँछ।
- सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ।
- सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ।
- पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्न मद्दत पुर्याउँछ। सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ।
- सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ।
- सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।
- सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ।
- कलेजो खराब हुनबाट जोगाउँछ। मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ।
- चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ।
- सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ। शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ।