एजेन्सी । घरमा बस्ने धेरै मानिसमा बिहानको खाना खाएपछि केही समय सुत्ने बानी हुन्छ ।
धेरै अध्ययनले १० देखि २० मिनेट छोटो समयको निद्रा अर्थात् पावर न्यापले शरीर र दिमागका लागि राम्रो हुने प्रमाणितसमेत गरिसकेका छन् । ब्लुमबर्ग रिपोर्टअनुसार अहिले वर्क फ्रम होमका कारण घरबाट काम गर्ने समयमा औसत तीन घण्टाको वृद्धि भएको छ । यसले थकान र तनावलाई पनि बढाएको छ ।
दिनको समयमा लिइएको १० देखि २० मिनेटको सुताइ (पावर न्याप) ले सामना गर्न प्रभावकारी हुनसक्छ । यसले प्रतिक्रिया गर्ने समय, प्रदर्शन र सतर्कता बढाउँछ । हार्वर्ड मेडिकल स्कुलका अनुसार दिनमा ३० मिनेटभन्दा बढी सुत्नु हुँदैन । दिनमा धेरै सुत्दा यसले शरीर स्फूर्तिभन्दा पनि थकित हुन थाल्छ ।
दिनमा १० देखि २० मिनेट सुत्नाले साइकोमोटर स्पिड अर्थात् दिमाग र शरीरबीचको समन्वय गर्ने प्रतिक्रिया समय र सतर्कता बढाउँछ । सन् २०१५ मा विली अनलाइन लाइब्रेरीमा प्रकाशित एक अध्ययनअनुसार गर्मीको समयमा छोटो समयको पावर न्याप लिँदा बच्चालाई शब्द चाँडै सिक्न मद्दत गर्छ । उनीहरूको स्मरणशक्ति विकास हुने तथा मेमोरी दीर्घकालीन समयसम्म रहनसक्ने बताइएको छ ।
अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित अर्को अनुसन्धानका अनुसार दिउँसोको सुताइले केही हदसम्म रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । वेब एमडीका अनुसार पावर न्यापले महिलामा रोग प्रतिरोध क्षमता बढाउँछ । विशेषगरी ४० वर्षभन्दा माथिका महिलाका लागि पावर न्याप लिनु बढी फाइदाजनक हुनसक्छ ।