काठमाडौं । अहिले मौसमले एक्कासी कोल्टे फेरेर परिवर्तन अनुभव गराइरहेको छ । राजधानी काठमाडौं लगायत पहाडी, हिमाली अनि मधेसहरूमा अविरल परेको वर्षाका कारण तापमानमा उल्लेखनीय गिरावट आएको छ ।
लगातारको वर्षाले अहिले मौसम रमाइलो बनाएको छ । एक हिसाबले यो वैशाख महिना हो भनेर पत्याउन गाह्रो छ । साताभर नै मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले यसअघि नै बताइसकेको छ ।
हरेक वर्ष यो महिना सामान्यतया तातो रहन्छ । यो समयमा मानिसहरूले आफूलाई गर्मी अनुकूल बनाएका हुन्छन् । अहिले सिरक तथा न्याना लुगा दराजमा थन्किसकेका छन् भने हिटर तथा पानी तताउने भाडाहरू पनि थन्काइन्छ । यति बेला पानीका बोतलहरू फ्रिजमा भरिन्छन् । यद्यपि यस पटक अवस्था फरक छ । गर्मी महिनामा एकाएक पानी पर्न थाल्यो र चिसो बढ्यो । अकस्मात् चिसो वर्षाले सर्वसाधारणलाई समस्या पनि भएको छ । यस्तो बेला परिवर्तित मौसमको खतरा र त्यसमा आफूलाई स्वस्थ राख्ने उपायहरू जान्नु आवश्यक छ।
थर्मल असन्तुलनका कारण फ्लु र सङ्क्रमणको जोखिम
गर्मीका दिनमा हुने जाडो कतिपयलाई रमाइलो लाग्न सक्छ तर यसका धेरै खतरा पनि छन् । यस्तो परिवर्तित तापक्रम अर्थात् थर्मल डिस-ब्यालेन्स फ्लु र भाइरस बढाउने सबैभन्दा अनुकूल समय हो । यस्तो समयमा धेरै प्रकारका सङ्क्रमण हुन सक्छ । यति बेला लागेको चिसो र खोकी लामो समयसम्म रहन सक्छ । वर्षाका कारण तापक्रममा एक्कासी गिरावट आएको छ । हाम्रो शरीर यो अचानक परिवर्तनको लागि तयार छैन । यस्तो अवस्थामा बिरामी पर्न सक्ने सम्भावना बढी हुन्छ ।
बालबालिका तथा वृद्ध वृद्धामा विशेष ध्यान
कोरोना महामारीले ठुलो जनसङ्ख्याको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको छ । यस्तो अवस्थामा बदलिँदो मौसम उनीहरूका लागि अझ खतरनाक हुन्छ । सामान्य भाषामा यसलाई चिसो-तातो भनिन्छ। त्यसैले मानिसहरूले विशेष सावधानी अपनाउनुपर्छ । यति बेला बालबालिका तथा वृद्धवृद्धाहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।
शरीरलाई खुल्ला हावाबाट जोगाउनुपर्छ
यो मौसमको वर्षाको विशेषता भनेको यसमा तीव्र हावा पनि चल्नु हो । यो हावा धेरै चिसो पनि हुन्छ । यस्तो अवस्थामा यो हावाले हामीलाई बिरामी बनाउन सक्छ । त्यसैले पूरै शरीर ढाक्ने लुगा लगाउनु र आँखा, कान र नाकलाई खुला हावाबाट जोगाउनु अत्यावश्यक छ । शरीरलाई सकेसम्म न्यानो राख्ने प्रयास गर्नुपर्छ ।
आहारमा परिवर्तन
चैत्र लाग्ने बित्तिकै देखि मानिसहरूले आफ्नो आहारमा ती चीजहरू समावेश गर्छन् जसबाट चिसो अनुभूति गर्न सकिन्छ । यद्यपि चिसो खाने बानी बेमौसमी चिसोमा केही दिनको लागि बन्द गर्नु उचित हुन्छ । यति बेला भिटामिन भएका चीजहरू प्रशस्त खानुपर्छ भने दही , लस्सी , आइसक्रिम आदि खानु हुँदैन ।
यो मौसममा पेटको समस्या
सामान्य वर्षाको दिनमा पानी प्रदुषित हुने र पेटको समस्या हुने गरेको छ । अहिलेको यो वर्षा बेमौसमी हो । त्यही भएर यो बढी खतरनाक छ । यस्तो अवस्थामा उमालेको पानी पिउनुका साथै पाचन प्रणालीको बिशेष ख्याल गर्नुपर्छ । वर्षायाममा कतिपय मानिसहरु चाट-पकौडा आदि चिल्लो पिरो खान थाल्छन् । यस्तो बानीबाट जोगिन जरुरी छ ।