एजेन्सी । धेरै बेरसम्म केही पनि नखाई बसेको बेला पेट कराएको सुन्नु भएको छ ? धेरै बेर खाली हुदाँ विभिन्न खाले आवाजमा पेट कराउने गर्दछ । यसलाई बोरबोरिग्मी भनिन्छ ।
पेटले निरन्तर रुपमा खानाहरुलाई पचाउने काम गर्दछ । खाना खाएको औसतमा ३ देखि ४ घण्टामा ति खानेकुरा पच्ने गर्दछन् । यस्तोमा धेरै समयसम्म केही नखाई बस्दा पेटमा खाना बाँकी रहँदैन । खानालाई पचाउन पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्याँस मात्र रहेको हुन्छ । खाली पेटमा ग्याँस र पेटबाट निक्लेका पाचन रसहरु बीच घस्रण भएर विभिन्न खाले आवाजहरु आउन थाल्छन् । पेट कराउनुको कारण यहि हो ।
यसमा ध्यान दिनु पर्ने कुरा के छ भने भोक लागेको समयमा पेट कराए पनि भोक लागेकै भरमा पेट कराउँछ भन्ने हुदैँन । नत्र हरेक पटक भोक लाग्दा पेट कराउनु पथ्र्यो। भोक लाग्नु भनेको शरीरलाई चाहिने विभिन्न खाले पोषक तत्वहरुको कमी हुनु हो। मस्तिष्कमा भोकलाई नियन्त्रण गर्ने भाग हुन्छ । शरीरको रगतमा पौष्टिक तत्वको कमी हुने बित्तिकै त्यहाँबाट पेट र आन्द्रामा विशेष प्रकारको संकेत पुग्छ र हामीलाई भोक लाग्न थाल्छ।
पेट कराएको बेला पेट र आन्द्रा निकै सक्रिय हुने गर्छन् । यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्छन् । तिनीहरु केवल आफूलाई शान्त पार्न मात्र तत्पर रहेका हुन्छन् । तिनीहरुले खानालाई पूर्ण रुपमा नपचाउन पनि सक्छन् । त्यसैले यस्तो बेला जे पायो त्यही खाँदा पेट दुख्ने समस्या पनि उत्पन्न हुन सक्छ । झाडापखाला जस्तो पेटको रोग पनि लाग्न सक्छ । यस्तो बेला स्वस्थ र पौष्टिक खानेकुरा खानु नै उचित हुन्छ।