धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न कुनै किसिमको संकेत भने दिन्छ ।
त्यसैले मुटुरोगबाट बच्नका लागि सचेत हुनु जरूरी छ । यहाँ दिइएकामध्ये कुनै पनि लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।
१ थकान
कहिलेकाहीँ थकित हुनु त सामान्य हो । बेस्सरी काम गर्ने सबैलाई थकान त लागिहाल्छ । तर ससानो काम गर्दा पनि थकाइ लाग्न थाल्यो भने बुझ्नुस्, मुटुलाई दबाब पर्दैछ । मुटुले पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्छ भन्ने लक्षण हो यो ।
२ छातीमा दबाब
छाती बाउँडिएर आउनु भनेको हृदयघातको चेतावनी हो । मुटु बेस्सरी धड्किने र छाती, पिठ्युँ, दाह्रा, घाँटी, पाखुरा वा माथिल्लो पेट दुख्ने गरेमा पनि हृदयघात हुन सक्छ ।
३ सास फेर्न अप्ठेरो
सास फेर्न गाह्रो हुनु भनेको तपाईंको फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको हो र धमनी ब्लक भएको संकेत हो । सास फेर्न गाह्रो हुने काम नियमित भइरह्यो भने खतराको घन्टीका रूपमा बुझ्नुपर्छ ।
४ कमजोरी
तपाईं कमजोर र ऊर्जाहीन महसूस गरिरहनुभएको छ भने तपाईंका मांसपेशीले पर्याप्त अक्सिजन नपाएको लक्षण हो । हृदयघातको पहिलो चेतावनी हो यो ।
५ चक्कर र चिसो पसिना
यस्तो लक्षण देखियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । बेस्सरी पसिना चुहिनु हृदयघातको प्राथमिक लक्षण हो र दिमागमा अक्सिजन नपुग्दा यस्तो हुन जान्छ ।