हरेक विवाहित दम्पतीको चाहना हुन्छ, आमाबुवा बन्ने । सन्तान कहिले पाउने सबैको आफ्नो व्यक्तिगत निर्णय हो र हुनुपर्छ । सन्तान प्राप्ति को समय कुनै एउटा कुराले निर्धारण गर्न नसकिने भएकोले धेरै कुरामा विचार गर्नुपर्ने हुन सक्छ ।
जैविक रुपले आमाबुवा बन्नु र दायित्वको आधारमा आमाबुवा बन्नु फरक कुरा हो । हाम्रो समाजमा अझै पनि योजना नै नबनाई गर्भवती हुने र त्यसपछि मात्र तयारी थाल्ने चलन छ । यसले गर्दा विभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ । राम्रो जिवन अनि सन्तानको उजल्ल भविष्यका लागि हरेक दम्पतीले पूर्व योजना तथा जिम्मेवारीका बारेमा अगाडी नै सोच्न आवश्यक हुन्छ । बिना तयारी गर्भवती हुँदा कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमा समस्याहरु उत्पन्न हुने गर्दछ ।
हरेक दम्पतीले सन्तान जन्माउनु अघि यस्ता बिषयमा बिशेष ध्यान दिनुपर्छ ।
- दम्पती आर्थिक र मानसिक रुपमा तयार हुनु पर्छ ।
- सन्तानको योजना बनाउनुअघि दम्पतीहरुले दुवैको ‘हेल्थ हिस्ट्री’ जान्न जरुरी हुन्छ ।
- गर्भवती हुनुअघि महिलाले रक्तचाप, मिर्गौला वा मुटुको अनिवार्य परीक्षण गर्नुपर्छ ।
- उमेरको हिसाबले कति समय कुर्न सकिन्छ सल्लाह लिने ।
- गर्भवती हुने महिलाले मदिरा पिउने, धूमपान गर्ने बानीलाई त्याग्नुपर्छ ।
- कामको वातावरण, जीवनशैली, खानपान मिलाउने ।
- थाइराइड, डाइबिटिज छ भने पहिले त्यसको उपचार गर्न अनि बच्चा जन्माउन सकिन्छ ।
यस्ता थुप्रै कुराहरुलाई ध्यानमा राख्दै सही समय निर्धारण गर्न सकिन्छ। केहि विकसित मुलुकमा सन्तान प्राप्तिको प्रयास शुरु गर्दा विज्ञको परामर्श लिने प्रचलन भएपनि हाम्रो देशमा यस्तो प्रचलन छैन । कुनै जटिलता आए मात्र स्वास्थ्य परामर्श लिने गरिन्छ । हाल केहि दशक यता गर्भवती महिलाहरु समय समयमा परिक्षण गराउने र अधिकांश डेलिभरि अस्पतालमै हुने गरेको छ ।
उचित समयमा स्वास्थ्य परामर्श लिँदा कति गर्भवती महिला जटिलता बाट जोगिन सकेका छन् भने बाँझोपन र यस सम्बन्धि फैलिएका मिथ्या कुराहरुबाट प्रताडित हुने र ज्यानै गुमाउने अवस्था सम्म पुगेका महिला पनि लाभान्वित भएका छन् ।