काठमाडौं । कहिलेकाहीँ हामीलाई खुट्टाको पिँडुला फर्किने समस्याले सताउँछ । खुट्टा फर्किँदा शारीरिक पीडा अत्यन्तै हुन्छ । खुट्टाको तिघ्रानिर वा पिँडुलाको मासु पल्टनु वा अर्कोतर्फ सर्नुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ।
प्रायः राति खुट्टा पल्टिने वा बाउँडिने गदर्छ। एक्कासि तिघ्रा र पिँडुलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने चिकित्सकहरू बताउँछन् । यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।
पल्टिएको ठाउँमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइ महसुस हुन्छ । तिघ्राको मासु पल्टिने अवधि केही समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकै ठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लाग्ने गर्छ । सबै उमेरका मानिसहरूमा यो समस्या देखिन्छ । प्रायः अधबैँसे तथा बूढाबूढीमा यो समस्या बढी देखिने गर्छ। चिकित्सकहरूका अनुसार पिँडुला बाउडिएपछि खुट्टामा कसेर बाँध्नु भनेको झन् खतरा बढाउनु हो । यसप्रकार छन् कारणहरु :
- शरीरमा रक्त सञ्चार राम्ररी नभएमा
- शरीरमा पानीको कमीले
- पोटासियमको कमीले
- पोषक तत्त्व अभाव
- लामो समयसम्म उभिँदा
- जलवियोजन
- गर्भवती
- हाइपो थाइराइड
- अनियन्त्रित मधुमेह
- मद्यपानको प्रयोग
एक्कासि खुट्टा फर्किएमा आराम गर्ने, फर्केको ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केको भागमा हिर्काएर भाईब्रेशन दिएमा खुम्चेका मसल तथा नसाहरू १० देखि २० मिनेटमा यथास्थानमा जाने गर्दछन् । जसले खुट्टा फर्किने समस्या समाधान गर्न सकिन्छ ।
रोकथामका उपायहरू :
- प्रशस्त पानी पिउने, फलफूलको रस र दालको रस पनि पिउने,
- सकेसम्म मद्यपान नगर्ने, कफी र सोडा नपिउने,
- सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ ।
- लगातार लामो समय नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने,
- सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने,
- १० देखि १५ मिनेट मासु फर्किए मसाज गराउने,
- खुटृा पल्टेको समयमा हिँड्ने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ ।
- पल्टिएको ठाउँमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्न सहयोग गर्छ।
- पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खानेकुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने,
- पटक-पटक खुट्टा पल्टिने समस्या दोहोरिए चिकित्सकको सल्लाह लिनु पर्छ ।