महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा हुने पीडा अर्थात् पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ । महिनावारीको समयमा महिलाको शरीरमा हर्मोनल उतारचढाव हुन्छ । जसले गर्दा यस समयमा महिलालाई पेट, कम्मर, खुट्टा र टाउको दुख्ने समस्या हुनसक्छ । बदलिँदो जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण महिलालाई महिनावारीको समयमा धेरै पीडा हुने गर्छ । महिनावारीको समयमा दुखाइ हुनु सामान्य कुरा हो तर यो समयमा असहनीय पीडाले चिडचिडापन, टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्याले निकै सताउँछ ।
साधारणतया महिनावारी किशोरीहरू १२ देखि १५ वर्ष उमेर पुगेदेखि सुरु हुन्छस कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्छ, जुन साधारण मानिन्छ । महिनावारीलाई २७ दिनको मासिक चक्र मानिन्छ । पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने पाठेघरमा निर्माण भएको रगत बिस्तारै योनिमार्ग हुँदै बाहिर निस्कन्छ । यस्तो बेला पाठेघर खुम्चिने र फुक्ने गर्छ र महिलाले दुखाइको महसुस गर्न सक्छन् ।
यस समयमा धेरै महिलाहरूले पीडाबाट छिट्टै छुटकारा पाउन औषधिको सहारा लिन्छन् । दुखाइको औषधि जथाभाबी प्रयोग गर्दा धेरै नकारात्मक असर देखा पर्न सक्छ, औषधिको सेवन गर्नैपरे चिकित्सकको सल्लाह लिएर मात्रै गर्नुपर्छ । दुखाईको उपायका साथ साथै महिनावारीको समय खानपानको पनि विशेष ध्यान दिनुपर्छ ।
महिनावारीको दुखाइबाट आराम पाउने उपाय
- तल्लो पेटमा हलुका मालिस गर्ने ।
- तातोपानी निरन्तर सेवन गर्ने यसले पेट दुख्नुका साथै पेट फुल्ने र अपचजस्ता समस्याबाट पनि बच्न सकिन्छ ।
- क्याल्सियमको कमीले पनि महिनावारी दुखाइ हुन सक्छ त्यसैले दुग्ध पदार्थको सेवन गर्ने ।
- तनाव कम गर्ने ।
- पर्याप्त निद्रा तथा आराम गर्ने ।
- हट ब्यागले दुखेको पेटमा सेकाउनुका साथै तातोपानीमा नुहाउने वा तातोपानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुन सक्छ ।
- फाइबर र प्रोटिन युक्त खाना जस्तै हरियो सागसब्जी, धेरै फलफूल, सलाद, केरा, ड्राई फ्रुट्स, डार्क चकलेट, ग्रिन टी को सेवन गर्न ।
- चिसो पेय पदार्थ, जङ्क फुड, चिप्स, चिया–कफी, मदिरा र धूम्रपानले ‘क्राम्प’ बढाउँने कुराको सेवन नगर्ने ।
- धेरै पानी पिउने ।
- धेरै गुलियो र नुनिलो खाने कुरा नखाने ।
- महिनावारीको समयमा पन्ध्र मिनेटको हल्का योगा, स्ट्रेचिङ वा हिंड्नु फाइदाजनक हुन्छ ।
महिनावारीको समयमा हल्का दुखाइ हुनु सामान्य हो तर औषधि नै खानुपर्ने अवस्था छ वा दैनिक गतिविधि खलबलिएको छ भने एक पटक स्त्रीरोग विशेषज्ञलाई भेट्नैपर्छ ।