वीरगञ्ज (पर्सा) । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो ।
“केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेस प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखाका बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको बताउनुभयो । “यो क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस्पतालले आफ्नो स्थापनाकालदेखि आँखा उपचारमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “समयानुकूल आँखा अस्पतालको सेवा पनि विस्तार गर्दै आइरहेको छ । आगामी दिनमा अझै गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्न अनुरोध गर्दछु ।” उपराष्ट्रपति यादवले आँखा अस्पताललाई मुलुकै नमुना अस्पतालको रूपमा विकसित गर्नका लागि पनि अनुरोध गर्नुभयो ।
“अस्पतालले ५० वर्षे योगदानलाई स्मरण गर्दै विगतका कमीकमजोरीलाई सुधार्दै बढ्नका लागि पनि जरुरी छ”, उहाँले भन्नुभयो, “अस्पतालले उच्चस्तरीय उपचार सेवालाई अझै सशक्तीकरण गरेर दृष्टिमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ अग्रसर हुन अनुरोध गर्दछु ।” उपराष्ट्र यादवले सोमबार अस्पतालको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको दृष्टि स्तम्भ र अस्पतालको नयाँ प्रस्तावित भवनको शिलान्यास पनि गर्नुभयो ।