स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. नजमुस्साबा अन्सारी -
महिनावारी महिलाको जीवनको एक प्राकृतिक र नियमित जैविक प्रक्रिया हो, जसले प्रजनन क्षमताको सूचक दिन्छ । किशोरीवस्थामा पुगेपछि महिनावारी चक्र सुरु हुन्छ । कसैलाई महिनावारी चक्रमा असहज र धेरै दुखाइ हुनसक्छ । त्यसमा महिनावारी अनियमित भएमा तनावको कारण बन्न जान्छ ।जसबारे अझैपनि समाजमा खुलेर कुरा गरिंदैन। अझै पनि धेरै किशोरी र महिलाहरू महिनावारीका बारेमा अपुरो जानकारीका कारण असहजता, लाज, र स्वास्थ्य समस्या भोगिरहेका छन्।
महिनावारी के हो र कहिले सुरु हुन्छ ?
महिनावारी महिलाको शरीरमा हरेक महिनामा हुने एउटा जैविक प्रक्रिया हो जसमा अण्डाशयबाट अण्डाणु छुटिन्छ र बच्चा जन्माउने तयारी स्वरूप युटेरसको भित्तो बाक्लो हुन्छ। यदि गर्भ रहँदैन भने त्यो भित्तो रगतको रूपमा बाहिर निस्कन्छ।
सामान्यत: ९ देखि १६ वर्ष को उमेरमा पहिलो महिनावारी (Menarche) सुरु हुन्छ र औसतमा २८ दिनको अन्तरमा दोहोरिन्छ। तर, सामान्यतया यो २८ दिनदेखि ३५ दिनभित्रमा हुन्छ । त्यसबाहेक पनि कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुनसक्छ, जसलाई महिनावारी गडबडी वा अनियमित महिनावारी भनेर बुझिन्छ ।
अनियमित महिनावारीका कारणहरू
महिनावारी कहिलेकाहीं ढिलो वा अगाडि हुनु सामान्य हो, तर बारम्बार अनियमितता स्वास्थ्य समस्या संकेत हुन सक्छ। महिनावारी अनियमितका पनि केहि सरल एवम् केहि गम्भीर गरी विविध कारणहरु हुन सक्छन् । जसमध्ये व्यक्तिको खानपिन शैली तथा व्यायामको दिनचर्यालाई यसको प्रमुख कारक तत्व मानिन्छ । कुनै कारणवश एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको असन्तुलन भएमा अनियमित महिनावारी हुन्छ । यी हार्मोनमा असन्तुलन आउने थुप्रै कारण छन् । सम्भावित कारणहरू:
- हार्मोन असन्तुलन (थाइराइड, PCOD )
- अत्यधिक तनाव वा मानसिक दबाव
- खानपानको असन्तुलन वा कुपोषण
- अत्यधिक वजन वा तौल घट्नु
- गर्भनिरोधक औषधि वा गर्भावस्था
- पीसीओडी
- योनीमा संक्रमण
- कसै–कसैमा रोगको संकेत (जस्तै एण्डोमेट्रियोसिस)
अत्यधिक वा कम रक्तस्राव हुनुको कारण
अत्यधिक रगत बग्नु (Menorrhagia)
- हार्मोन असन्तुलन
- गर्भनिरोधक औषधिको असर
- संक्रमण वा युटेरस सम्बन्धी रोग जस्तै युटेराइन फाइब्रॉइड
कम रगत बग्नु (Hypomenorrhea)
- अत्यधिक व्यायाम
- अत्यन्त कम तौल
- पोलिसिस्टिक ओवरी सिन्ड्रोम ९एऋइक्०
महिनावारी किन पीडादायी हुन्छ ?
महिनावारीको समय महिलाले पेल्भिस, कम्मर, पेट, थाइ, वा ढाडमा दुखाइ अनुभव गर्न सक्छन्। हरेक महिलाको पीडाका प्रकार फरक हुन्छ । कसैलाई तल्लो पेटदेखि खुट्टासम्म, त कसैलाई यससँगै कम्मर र ढाड पनि दुख्छ । जसले शरीरलाई दुईदेखि तीन दिनसम्म शारीरिक रुपमा थकित र कमजोर बनाउँछ । यो सामान्य मानिने गरिन्छ यसलाई अर्ली मेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ तर दुखाइ आसहिए भएमा चिकित्सकको सुझाव अनिवार्य हुन्छ । यसका साथै मूड स्विङ, चिडचिडापन सामान्य हुन्छ ।
यसको कारण :
- युटेरसको संकुचन (uterine contractions)
- प्रोस्टाग्ल्यान्डिन नामक रसायनको अधिक उत्पादन
- हार्मोनल उतारचढाव
- ऐठन, पेट फुल्ने समस्या
महिनावारि भएको बेला के कस्ता कुरामा ध्यान दिने
महिनावारीमा हाइजिन कायम राख्नु अति आवश्यक छ
- व्यक्तिगत सरसफाइमा ध्यान दिने
- स्यानिटरी प्याड, कप वा ट्याम्पन ४–६ घण्टामा परिवर्तन गर्नु
- गुप्तांग सफा राख्ने र सुख्खा राख्ने
- हल्का र सफा कपडा प्रयोग गर्नु
- अत्यधिक थकाइ हुने काम नगर्ने
- तनाव व्यवस्थापन गर्ने
- दैनिक नुहाउने
- हल्का व्यायाम वा स्ट्रेचिङ् गर्ने
- फलफूल, सागसब्जी, आयरनयुक्त खाना, तातो झोलिलो खाना, प्रशस्त पानी सेवन गर्ने
- संक्रमण रोक्न गन्धयुक्त साबुन वा केमिकलयुक्त प्रोडक्ट नचलाउने
- क्याफिन, अत्यधिक चिनी, बोसोयुक्त खाना र प्रोसेस्ड फूड नखाने
मेन्स्ट्रुअल कपका साइड इफेक्टहरू छन् ?
मेन्स्ट्रुअल कपका कुनै बेफाइदा छैन् तर, पहिलोपटक प्रयोग गर्दा राख्न वा निकाल्न गाह्रो हुन सक्छ र राम्रो सफाइ नगरे संक्रमणको सम्भावना हुनसक्छ तर, सही तरिकाले प्रयोग गरेमा यो विकल्पहरू सुरक्षित, वातावरणमैत्री र दीर्घकालीन समाधान हुन सक्छन्।
महिनावारी महिला शरीरको सामान्य प्रक्रिया हो जसलाई लाज वा डरको नजरले हेर्नु हुँदैन। यसको बारेमा खुला रूपमा कुरा गरौं, सही जानकारी लिऔं, र हाइजिनलाई पहिलो प्राथमिकता दिऔं। अनियमितता वा अत्यधिक पीडा भएमा विशेषज्ञ चिकित्सकको सल्लाह लिनु आवश्यक छ।