बालबालिकामा क्यान्सर हुने निश्चित कारण अहिलेसम्म पत्ता लागेको छैन। तर वंशाणुगत कारण, वातावरणीय प्रदूषण तथा अन्य जीवनशैली सम्बन्धी कारणहरूले यसलाई प्रभावित गर्ने देखिएको छ। वयस्कमा हुने क्यान्सर र बालबालिकामा हुने क्यान्सर धेरै हदसम्म उस्तै भए पनि बालबालिकामा विशेष गरेर रक्त क्यान्सर, आँखाको क्यान्सर, हड्डी र मिर्गौलाको क्यान्सर बढी देखिने गरेका छन्।
नेपालमा बाल क्यान्सरको अवस्था
हस्पिटलमा उपचारका लागि आउने क्यान्सर पीडित बालबालिकामध्ये रक्त क्यान्सर (Leukemia) सबैभन्दा बढी हुन्छ। यसपछि हड्डी, आँखा र मिर्गौलाको क्यान्सर हुने बालबालिकाको संख्या उच्च देखिन्छ।
रक्त क्यान्सर भएका बालबालिकामा लक्षण ढिलो प्रकट हुने भएकाले उपचारमा ढिलाइ हुने समस्या देखिएको छ।
लक्षण
- लामो समयसम्म ज्वरो आउनु
- बारम्बार रगत बग्नु
- शरीरमा निलो डाम देखिनु
- हड्डी तथा शरीर दुख्नु
- रगतको कमी भएर छाला सेतो वा पहेंलो हुनु
- कमजोरी महसुस हुनु
यी लक्षण सुस्त गतिमा देखा पर्ने भएकाले अभिभावकले ढिलो गरी मात्र अस्पताल लैजाने र गम्भीर अवस्थामा मात्रै उपचार सुरु गर्ने प्रवृत्ति छ।
उपचार र खर्च
क्यान्सरको प्रकृति अनुसार उपचार फरक–फरक हुन्छ।
- रक्त क्यान्सरको उपचारमा ६ महिना अस्पतालमै उपचार गर्नुपर्छ र त्यसपछि ३ वर्षसम्म निरन्तर औषधि तथा निगरानी आवश्यक हुन्छ।
- उपचार खर्च ठूलो चुनौती हो। सरकारको सहुलियत अन्तर्गत एक लाख रुपैयाँ सहयोग हुने व्यवस्था भए पनि अस्पतालमा मात्रै ७ देखि ८ लाख रुपैयाँ खर्च हुने तथ्यांक छ। यसमा बसोबास, खाना र आम्दानी गुम्ने समस्या थपिँदा अभिभावक गम्भीर आर्थिक संकटमा पर्छन्।
पहुँच र चुनौती
नेपालमा हरेक वर्ष करिब १५०० बालबालिकामा क्यान्सर हुने अनुमान छ। तर तीमध्ये केवल ५० प्रतिशत मात्र उपचारका लागि अस्पताल पुग्ने गरेको तथ्यांक (२०१७) ले देखाउँछ। यसको अर्थ अझै पनि धेरै बालबालिका उपचारको पहुँचबाट वञ्चित छन्।
के गर्न सकिन्छ ?
- जनचेतना अभिवृद्धि : क्यान्सर ठूला मान्छेमा मात्रै लाग्छ भन्ने भ्रम तोड्न स्थानीय, प्रदेश र संघीय सरकार, स्वास्थ्य संस्था तथा गैरसरकारी क्षेत्रले जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्छ।
- उपचार सहज र विकेन्द्रित बनाउने : क्यान्सर उपचार सुविधा दुर्गमसम्म पुर्याउने र बाल क्यान्सर वार्डहरू स्थापना गर्नुपर्छ।
- आर्थिक सहयोग बढाउने : सरकारले दिने सहयोग रकम बढाउनुपर्छ र अतिरिक्त राहत प्याकेज (बसोबास, खानपान, गुमेको आम्दानी) समेत सुनिश्चित गर्न आवश्यक छ।
- अभिभावकको सचेतता : प्रारम्भिक लक्षण देखिनासाथ ढिलाइ नगरी विशेषज्ञ डाक्टरसँग जाँच गराउनुपर्छ।
बालबालिकामा क्यान्सर गम्भीर तर उपचार सम्भव रोग हो। ढिलो गरी अस्पताल पुग्दा मात्र जटिलता बढ्छ। प्रारम्भिक लक्षणप्रति अभिभावक सचेत रहनु, उपचार पहुँचलाई सहज बनाउन सरकार तथा सरोकारवालाको सक्रियता बढाउनु अहिलेको आवश्यकता हो।
(न्सलटेन्ट पेडियाट्रीक्स हेमाटोलोजिष्ट तथा अन्कोलोजिष्ट डा. सुवास मेहेतासँग गरेको कुराकानी)