कलेजोमा लाग्ने धेरै रोगमध्ये एक हो, लिभर सिरोसिस । लिभर सिरोसिस सुस्त गतिमा बढ्ने रोग हो । यो रोगमा कलेजोको आकार खुम्चिन थाल्छ र त्यसमा कठोरता आउँछ । यस रोगमा कलोजोका धेरै कोशिकाहरु नष्ट हुन्छन् र फाइबर तन्तुले त्यसको स्थान लिन्छन् । साथै कलेजोको बनावट पनि असामान्य हुन्छ । यस बिमारीको अन्तिम उपचार कलेजो प्रत्यारोपण हो ।
त्यस्तै विभिन्न स्वास्थ्य समस्याका कारण कलेजोको आकार बिस्तारै खुम्चिँदै जाने अवस्थालाई सिरोसिस भनिन्छ । नेपालमा पनि कलेजोमा हुने समस्याहरूमध्ये सिरोसिस मुख्य रहेको छ ।
लिभर सिरोसिस किन हुन्छ ?
लिभर सिरोसिसको प्रमुख कारण कलेजो गम्भीर रुपमा क्षतिग्रस्त हुनु हो । नेपालमा सिरोसिसका अधिकांश कारणहरू हेपाटाइटिस बी, मद्यपान र अव्यवस्थित खानपान हुन्। कलेजोमा बोसो जम्नु, पित्त नलीमा संक्रमण हुनु र अत्यधिक औषधिको प्रभावका कारण पनि सिरोसिस हुन सक्छ । तर, करिब २० प्रतिशतमा भने सिरोसिसको कारण पत्ता लगाउन सकिँदैन ।
- अत्यधिक रक्सी सेवन -मुख्य कारण
- बोसोयुक्त र मासुजन्य खानेकुरा
- हेपाटाइटिस बी वा सी संक्रमण
- अत्यधिक औषधि सेवन वा जडिबुटीको गलत प्रयोग
- बंशाणुगत कारण र अन्य स्वास्थ्य समस्या
- पुरुषले लामो समय रक्सी सेवन गर्दा करिब १० वर्षमा सिरोसिस हुन सक्छ भने महिलामा यो जोखिम अझ चाँडो बढ्छ।
लक्षणहरू
- शरीर पहेँलो हुने (जन्डिस)
- पेटमा पानी जम्ने
- मुख वा दिसाबाट रगत आउनु
- खुट्टा सुन्निनु, थकान
- मस्तिष्क अनियन्त्रित हुने
कहिले अस्पताल जानु पर्छ ?
- पेटमा पानी बारम्बार जम्ने,
- मुख वा नाकबाट रगत आउन सुरु भए,
- बेहोसीपन बढ्दै गए,
- कलेजोले मिर्गौलामा असर पुर्याउन थाले, त्यस अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु अत्यावश्यक हुन्छ।
उपचार र प्रत्यारोपण
सिरोसिस भए नभएको पत्ता लगाउने प्रमुख विधि लिभरको बायोप्सी हो । सिरोसिस लामो समयसम्म उपचार नभएमा कलेजोको क्यान्सर हुन सक्ने जोखिम रहन्छ । तसर्थ लक्षण वा कारण पत्ता लागेपछि पेट तथा कलेजो रोग विशेषज्ञहरूसँग नियमित परामर्श लिनुपर्छ । सिरोसिसको अन्तिम अवस्था पुगेपछि कलेजो प्रत्यारोपण मात्र उपाय रहन्छ।
प्रत्यारोपण कहिले आवश्यक हुन्छ ?
- पेटमा पानी बारम्बार जम्ने र पटक–पटक तान्नु पर्ने अवस्था आएमा
- मुख वा नाकबाट बारम्बार रगत आउने
- नसाहरू फुलिनु वा फुटिनु
- बेहोसीपना बढ्दै जानु, मानसिक स्थिति कमजोर हुनु
- कलेजोले मिर्गौलामा असर गर्न थालेको देखिनु
- छातीमा पानी जम्ने र सास फेर्न गाह्रो हुने अवस्था आउनु
रोकथामका उपाय
- रक्सी पूर्ण रूपमा छोड्ने।
- चिकित्सकको सल्लाहबिना औषधि वा जडिबुटी सेवन नगर्ने।
- स्वस्थ खाना, नियमित व्यायाम र पर्याप्त पानी पिउने।
- हेपाटाइटिस बी को खोप अनिवार्य लगाउने।