दिनको मध्यान्ह तिर, वा कसैलाई भेट्नुअघि कहिलेकाहीँ तपाईँलाई लाग्छ - “मबाट दुर्गन्ध त आउँदैन होला ?” आजकाल सामाजिक सञ्जालमा “फ्रेश कसरी रहने ?” भन्ने पोस्टहरू अनि “डिओडोरन्ट छर्कने” भिडियोहरूले यो चिन्ता झन् बढाइदिएका छन्।
तर, विज्ञहरू भन्छन् - पसिना आउनु कुनै अस्वच्छताको सङ्केत होइन, यो शरीरको स्वाभाविक र आवश्यक जैविक प्रक्रिया हो।
पसिना किन आउँछ ?
यूकेको ब्रिस्टल विश्वविद्यालयकी अनाटमी प्राध्यापक मिशेल स्पिअर भन्छिन्, “पसिना आउनु शरीरको ताप नियन्त्रण गर्ने स्वस्थ तरिका हो।” गर्मी, तनाव वा व्यायाम गर्दा शरीर तात्छ। त्यसपछि ग्रन्थीहरूले पानी र लवण मिसिएको तरल पदार्थ निकाल्छन्, जसले बाफ बनेर शरीरलाई चिस्याउँछ। तर, दुर्गन्ध पसिनाबाट होइन, शरीरमा बस्ने ब्याक्टेरियाले पसिनाको बोसोयुक्त अंश तोड्दा उत्पन्न हुने “ब्राइ–प्रडक्ट” बाट आउँछ।
फ्रेश रहन के गर्ने ?
पसिना रोक्नु होइन, व्यवस्थापन गर्नु नै समाधान हो। विज्ञहरूले सुझाएका केही सजिला उपायहरू:
नियमित सरसफाइ
- साबुनपानीले शरीर सफा गर्नु सबैभन्दा प्रभावकारी उपाय हो।
- काखी, पैताला र खुट्टाबीचको भाग राम्रोसँग माड्न नबिर्सनु।
नुहाउने तालिका
हरेक दिन नुहाउनु अनिवार्य होइन। हप्तामा ३–५ पटक पर्याप्त हुन्छ - मौसम र गतिविधिअनुसार समायोजन गर्न सकिन्छ।
सही कपडा छनोट
- सुती र लिनिनजस्ता प्राकृतिक कपडाले पसिना सोस्छन् र शरीरलाई सास फेर्न दिन्छन्।
- सिन्थेटिक कपडाले पसिना रोक्छ, जसले दुर्गन्ध र असहजता बढाउँछ।
डिओडोरन्ट र एन्टिपर्स्पिरन्टको प्रयोग
- डिओडोरन्ट: ब्याक्टेरिया घटाएर र बास्नाले दुर्गन्ध ढाक्ने काम गर्छ।
- एन्टिपर्स्पिरन्ट: एलुमिनियम लवणले पसिनाको उत्पादन कम गर्छ।
- राति सुत्ने बेलामा लगाएर बिहान पखाल्दा अझ प्रभावकारी हुन्छ।
खानपान र हाइड्रेशन
- पर्याप्त पानी पिउने।
- मसलेदार वा अत्यधिक क्याफिनयुक्त पदार्थले पनि पसिना बढाउन सक्छ - नियन्त्रण गर्न सकिन्छ।
पसिना आउनु कमजोरी होइन, स्वस्थ शरीरको संकेत हो। तर सन्तुलित सरसफाइ, उपयुक्त लुगा र सही हाइजिन अपनाएपछि तपाईँ पनि दिनभरि आत्मविश्वासका साथ “फ्रेश” महसुस गर्न सक्नुहुन्छ।