पिनास (साइनुसाईटिस) टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरुमा हावाको साटो सिँगान भरिनु,मासु पलाउनु, ढुसि जम्मा भयो भने यस लाई पिनास भनिन्छ । पिनासलाई एक्युट साइनोसाइटिस र क्रोनिक साइनोसाइटिस दुई किसिमले हेरिन्छ ।
पिनासका प्रकार
- एक्युट साइनुसाइटिस (Acute Sinusitis)
४ हप्ताभन्दा कम समय रहने यो पिनास प्रायः भाइरल, एलर्जीक वा ब्याक्टेरियल संक्रमणका कारण हुन्छ।
- क्रोनिक साइनुसाइटिस (Chronic Sinusitis)
१२ हप्ताभन्दा बढी समय रहने पिनासलाई क्रोनिक भनिन्छ।
यो प्रायः एलर्जी भएका व्यक्तिहरूमा देखिन्छ र कहिलेकाहीँ नाकभित्र मासु पलाउने समस्या पनि देखापर्छ।
साइनसका मुख्य ४ प्रकार
- म्याक्जिलरी साइनस – जन्मदेखि नै हुने र सबैभन्दा धेरै संक्रमण हुने साइनस हो।
- इथमोइडल साइनस – आँखाको बीच भागमा हुने र बालबालिकामा बढी असर गर्ने साइनस।
- फ्रन्टल साइनस – निधारको भागमा रहने यो साइनस दिमाग नजिक भएकाले लामो समयसम्म उपचार नगर्दा टाउकोमा समस्या हुन सक्छ।
- स्फेनोइडल साइनस – यो भित्री भागमा दिमागसँग टाँसिएको हुन्छ। पिनास अत्यधिक बिग्रिएपछि मात्र यसले असर देखाउँछ।
मुख्य लक्षणहरू
- लगातार टाउको दुख्ने
- नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने
- अनुहार, निधार वा आँखाको वरिपरि दुख्ने
- ज्वरो आउने वा शरीर भारी हुने
- खोकी लागिरहने, मुखबाट खकार आउने
- आँखा सुनिने वा धमिलो देख्ने
- गन्ध नथाहा हुने
यी लक्षण देखिएमा ढिलो नगरी नाक–कान–घाँटी विशेषज्ञसँग सल्लाह लिनुपर्छ।
पिनासका कारणहरू
- एलर्जी (धुलो, धुवा, चिसो हावा, फुलको रेखा आदिबाट)
- भाइरल वा ब्याक्टेरियल संक्रमण
- लामो समयको रुघा
- बालबालिकामा — इस्टाच्युन ट्युबको संक्रमण वा जन्मजात समस्या
उपचारका तरिका
पिनासको उपचार औषधि (Medical) र शल्यक्रिया (Surgical) — दुबै तरिकाले गर्न सकिन्छ। अधिकांश केसमा औषधि, एन्टिबायोटिक, नाक सफा गर्ने स्प्रे र एलर्जी नियन्त्रण गर्ने उपायले सुधार आउँछ। तर समस्या दीर्घकालीन भए वा मासु पलाएको खण्डमा सर्जरी (Endoscopic Sinus Surgery)
रोकथाम र बच्ने उपाय
पिनास मौसमी कारणले बढी हुने भएकाले यो समयमा न्यानो भएर बस्ने, चिसो खानेकुरा सकेसम्म नखाने, एलर्जीको कारण पता लगाई त्यसबाट जोगिने रुघा लामो समयसम्म निको भएन भने चिकित्सकको परामर्श लिन सकिन्छ । पिनास प्राय एलर्जीका कारण हुने गर्छ । त्यसैले पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ ।
- ढुसी भएको खाने कुरा नखाने ।
- माक्सको प्रयोग गर्ने ।
- धुवा धुलोबाट बच्ने ।
- धुम्रपान नगर्ने ।
- रुघाखोकी लागेका व्यक्तिहरूबाट टाढा बस्ने ।
- मौसमी संक्रमणबाट बच्ने ।
- नाक, कान घाटीको संक्रमण भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गर्ने ।
- नाकको सफाईमा विशेष ध्यान दिने ।
- नाक, कान घाटि सम्बन्धि कुनै पनि समस्या देखा परे तुरुन्त चिकित्सकको परामर्श लिने ।
(नाक, कान, घाँटी रोग विशेषज्ञ डा प्रशान्त पौडेलसंगको कुराकानिमा आधारित)