काठमाडौं । जाडो याम प्रवेशसँगै इन्फ्लुएन्जा (फ्लु) संक्रमणको जोखिम उल्लेख्य रूपमा बढेको चिकित्सकहरूले बताएका छन्। जाडोमा सक्रिय रहने इन्फ्लुएन्जा भाइरसका कारण बालबालिका, युवादेखि वृद्धवृद्धा सबैमा संक्रमण देखिन सक्छ।
दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू विशेष जोखिममा रहने इन्फ्लुएन्जा फोकलपर्सन डा। मिलन बज्राचार्य बताउँछन्।
उनका अनुसार, इन्फ्लुएन्जाले दीर्घरोगीको अवस्था गम्भीर बनाउने, विशेषगरी फोक्सोमा असर पुर्याई निमोनियासम्म हुने खतरा हुन्छ। “यस्ता बिरामीलाई कहिलेकाहीँ आइसियुमा राखेर उपचार गर्नुपर्छ,” डा। बज्राचार्यले बताएका छन्।
नेपालमा हाल इन्फ्लुएन्जा ‘ए’ को संक्रमण पुष्टि भइसकेको छ। कात्तिकदेखि फागुनसम्म संक्रमण दर बढ्ने भएकाले अधिक सतर्कता आवश्यक भएको भन्दै उनले हप्तौँमा ७–८ वटा स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइने जानकारी दिए।
इन्फ्लुएन्जाका प्रमुख लक्षण
- ज्वरो
- खोकी र घाँटी दुखाइ
- टाउको दुखाइ
- नाक बन्द वा सिगान बग्ने
- जिउ र मांसपेशी दुख्ने
- थकान
नोट: सबै इन्फ्लुएन्जा संक्रमितमा ज्वरो अनिवार्य हुनैपर्छ भन्ने छैन।
सुरक्षाका उपायहरू
- बिरामी व्यक्तिसँग सुरक्षित दूरी कायम गर्ने
- हाच्छ्युँ वा खोकी गर्दा नाक–मुख छोप्ने
- बिरामी हुँदा घरमै विश्राम गर्ने
- प्रशस्त तरल पदार्थ र पौष्टिक आहार सेवन गर्ने
- साबुन–पानीले नियमित हात धुने
- आँखा, नाक र मुख अनावश्यक रुपमा नछुने
चिकित्सकहरूले जाडोयाममा लापरवाही नगर्न, लक्षण देखिएमा छिटो स्वास्थ्य संस्थासँग सम्पर्क गर्न र जोखिम समूहका व्यक्तिलाई विशेष ध्यान दिन सुझाव दिएका छन्।