काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारका नीति, आवधिक योजना र रणनीतिहरूमा औषधि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको बताएका छन्। नेपाल औषधि उत्पादक संघ (एपन) द्वारा आयोजित दशौँ नेपाल फार्मा एक्सपो कार्यक्रममा बोल्दै उनले स्वदेशी औषधि उत्पादन बढाउने, औषधिको उपलब्धता सुनिश्चित गर्ने र औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सरकारको नीति दस्तावेजमै समेटिएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. देवकोटाले स्वदेशी औषधि उद्योगले नेपाली जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे। उनका अनुसार नेपालमा आवश्यक पर्ने औषधिमध्ये करिब ५० प्रतिशत औषधि स्वदेशमै उत्पादन भइरहेको छ, जसले देशको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सहयोग पुगेको छ।
'ठूलो लगानीका बीच सीमित प्रतिफल हुँदाहुँदै पनि उद्योगहरूले निरन्तर लगानी गरिरहनुभएको छ, यसका लागि मन्त्रालयको तर्फबाट धन्यवाद दिन चाहन्छु,' उनले भने।
डा. देवकोटाका अनुसार स्वास्थ्य सेवा प्रदान गर्दा औषधि अत्यन्त महत्वपूर्ण घटक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग गरी तीन विभाग रहे पनि औषधिको भूमिका तीनै क्षेत्रमा महत्वपूर्ण रहेको उनले बताए।
उनले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सेवामध्ये पनि सबैभन्दा बढी औषधिसँग सम्बन्धित सेवा लिइने गरेको उल्लेख गरे। त्यस्तै, नेपालमा स्वास्थ्य सेवामा हुने “आउट अफ पकेट एक्सपेन्डिचर” अझै उच्च रहेको भन्दै नागरिकहरूले स्वास्थ्य सेवा लिँदा खर्च गर्ने रकममध्ये ५४ प्रतिशतभन्दा बढी रकम आफ्नै खल्तीबाट तिर्नुपर्ने अवस्था रहेको बताए, जसको ठूलो हिस्सा औषधिमा खर्च हुने उनले बताए।
औषधि क्षेत्र स्वास्थ्य प्रणालीको अत्यन्त संवेदनशील र आवश्यक क्षेत्र भएको उल्लेख गर्दै उनले मिडिया तथा सार्वजनिक बहसमा पनि स्वास्थ्य क्षेत्रको चर्चा हुँदा प्रायः औषधिको गुणस्तर, उपलब्धता, मूल्य, खरिद प्रक्रिया र प्रभावकारितासँग सम्बन्धित विषयहरू उठ्ने गरेको बताए।
डा. देवकोटाले औषधि क्षेत्रमा अनुसन्धान र गुणस्तर अभिवृद्धिमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। औषधि व्यवस्था विभागलाई केवल नियमन गर्ने निकायका रूपमा मात्र नभई सहजीकरण गर्ने निकायका रूपमा पनि विकास गर्न सकिने भन्दै उनले औषधि उद्योगमा लगानी बढाउन वातावरण निर्माण गर्न आवश्यक रहेको बताए।