गर्मी सुरु भएसँगै बजारमा आँपको आकर्षण बढ्छ । स्वादिलो र पोषणयुक्त फल भएकाले धेरैले आँप मन पराउँछन् । तर कतिपयलाई आँप खाएपछि पेट दुख्ने, ग्यास हुने, पेट फुल्ने वा पखाला लाग्ने समस्या देखिने गर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार आँप आफैंमा हानिकारक फल होइन । तर यसको मात्रा, खाने तरिका र व्यक्तिको पाचन क्षमताले असर पार्न सक्छ ।
पोषणविद्हरूका अनुसार आँपमा प्रशस्त फाइबर र प्राकृतिक चिनी ‘फ्रुक्टोज’ हुन्छ । धेरै आँप एकैपटक खाँदा पाचन प्रणालीमा दबाब पर्न सक्छ, जसले पेट दुख्ने वा पखाला लाग्ने समस्या निम्त्याउन सक्छ । कमजोर पाचन भएका व्यक्तिमा यस्तो समस्या बढी देखिन सक्छ ।
धेरै पाकेको आँप वा रसायन प्रयोग गरेर पाकाइएको आँपले पनि पेटमा जलन, एसिडिटी र आन्द्रासम्बन्धी समस्या गराउन सक्छ । साथै, राम्रोसँग नधोई वा लामो समय खुल्ला राखिएको काटेको आँप खाँदा ब्याक्टेरियाको संक्रमण भएर पेट खराब हुन सक्छ ।
विशेषज्ञहरूले आँप सन्तुलित मात्रामा खान, खानुअघि राम्रोसँग धुन, धेरै समय काटेर नराख्न तथा अत्यधिक तेलिलो वा मसलेदार खानासँग नखान सुझाव दिएका छन् ।
आँपमा शरीरलाई आवश्यक पर्ने भिटामिन, फाइबर र एन्टिअक्सिडेन्ट पाइने भएकाले यसलाई पूर्ण रूपमा छोड्न आवश्यक नरहेको विज्ञहरूको भनाइ छ । सही तरिकाले र सन्तुलित रूपमा खाएमा आँप स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ ।
यस्ता छन् आँप आनुका फाइदाः
१. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
२. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
३. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ ।
४. आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ ।
५. आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।
६. आँपमा भरपूर मात्रामा भिटामिन बी ६ हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
७. यसको सेवनले ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ ।
८. २ चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चायाँ पर्ने समस्याबाट मुक्ति मिल्छ ।