काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ ढंगले पुनर्संरचना गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने बजेटमा स्वास्थ्य बीमा सुधारदेखि नसर्ने रोग नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।
पछिल्ला वर्षहरूमा प्रभावहीन बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्जीवित गर्ने उद्देश्यसहित सरकारले नयाँ मोडालिटी ल्याउने तयारी गरेको छ । बीमा दाबी भुक्तानीको ढिलाइ, अस्पतालहरूको असन्तुष्टि र नागरिकको घट्दो आकर्षणलाई सम्बोधन गर्दै बीमा प्रणालीलाई थप पारदर्शी र सेवामुखी बनाउने तयारी गरिएको बताइएको छ ।
यसपटकको बजेटमा क्यान्सर, मधुमेह, मुटु तथा मिर्गौलासम्बन्धी रोगलाई प्राथमिक स्वास्थ्य चुनौतीका रूपमा राखिएको छ । उपचारभन्दा रोकथामलाई केन्द्रमा राखेर नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभियान र समुदायस्तरमै स्क्रीनिङ कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याइने अपेक्षा गरिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सातै प्रदेशमा क्रमशः विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक प्रयोगशाला स्थापना तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउने योजना पनि बजेटमा समेटिनेछ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव र जनशक्ति कमीको समस्या समाधान गर्न विशेष कार्यक्रम ल्याउने तयारी गरिएको छ ।
सरकारले सार्वजनिक स्वास्थ्यलाई असर गर्ने सुर्तिजन्य पदार्थ, मदिरा र अत्यधिक चिनीयुक्त पेय पदार्थमा थप कर लगाउने सम्भावना पनि रहेको छ । यसलाई नसर्ने रोग नियन्त्रण र राजस्व वृद्धिसँग जोडेर हेरिएको छ । स्वास्थ्य विज्ञहरूले लामो समयदेखि यस्ता वस्तुमा उच्च कर आवश्यक रहेको सुझाव दिँदै आएका छन् ।
बजेटमा मानसिक स्वास्थ्य सेवालाई समेत प्राथमिकतामा राखिएको बताइएको छ । विद्यालय, कार्यस्थल र समुदायस्तरमा मानसिक स्वास्थ्य परामर्श सेवा विस्तार गर्ने कार्यक्रम आउन सक्ने अनुमान गरिएको छ । साथै अपाङ्गता पुनर्स्थापना सेवा, फिजियोथेरापी र ज्येष्ठ नागरिक स्वास्थ्य सेवाका लागि छुट्टै बजेट व्यवस्था गर्ने तयारी पनि सरकारले गरेको छ ।
सरकारले यस वर्ष स्वास्थ्यसँगै डिजिटल सेवा, रोजगारी, कृषि उत्पादन र पूर्वाधार विकासलाई पनि बजेटको मुख्य आधार बनाएको जनाएको छ । अर्थमन्त्री वाग्लेले आज अपराह्न ४ बजे संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।