लण्डन । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) र आसपासका क्षेत्रमा फैलिएको इबोला भाइरसको दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिले महामारीको रूप लिन थालेपछि वैज्ञानिकहरू यसको नियन्त्रणका लागि खोप विकासको तीव्र दौडमा जुटेका छन्।
हालसम्म यस प्रजातिका कारण झण्डै २५० जनाको मृत्यु भइसकेको छ। डीआर कंगोमा १ हजारभन्दा बढी शंकास्पद बिरामी फेला परिसकेका छन् भने छिमेकी युगान्डामा पनि संक्रमण पुष्टि भएको छ। द्वन्द्व प्रभावित तथा सीमित स्वास्थ्य सेवा भएको क्षेत्रमा संक्रमण फैलिएकाले स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्।
महामारीको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन पहल ९आईएभीआई० ले यो प्रकोप इतिहासकै सबैभन्दा गम्भीर इबोला महामारीमध्ये एक बन्न सक्ने चेतावनी दिएको छ। सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीमा करिब २९ हजार संक्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो। विज्ञहरूले अहिलेको प्रकोप पनि त्यस्तै वा त्योभन्दा बढी गम्भीर बन्न सक्ने बताएका छन्।
खोप अनुसन्धानलाई आर्थिक सहयोग गरिरहेको संस्था कोअलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स (सेपी) ले महामारी नियन्त्रणका लागि प्रत्येक दिन महत्त्वपूर्ण रहेको जनाएको छ। आईएभीआईका प्रमुख डा. मार्क फेनबर्गले खोप विकास र संक्रमण नियन्त्रणका उपायहरूलाई अहिलेको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन्।
इबोला भाइरसका छ वटा प्रजाति भए पनि तीमध्ये तीनवटाले मात्र ठूलो महामारी फैलाउन सक्छन्। अहिले फैलिएको बुन्डिबुग्यो प्रजाति संसारमा यसअघि केवल दुई पटक मात्र देखिएको थियो। दुर्लभ भएकै कारण यसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप विकास हुन सकेको छैन।
यही चुनौतीलाई सामना गर्न अक्सफोर्ड विश्वविद्यालय, अमेरिकी औषधि कम्पनी मोडेर्ना र आईएभीआईले फरक–फरक प्रविधिमा आधारित खोप विकास गरिरहेका छन्। आईएभीआईले पहिलेदेखि उपलब्ध जायरे प्रजातिको इबोला खोपलाई परिमार्जन गरी बुन्डिबुग्यो प्रजातिविरुद्ध प्रभावकारी बनाउने प्रयास गरिरहेको छ। बाँदरमा गरिएको प्रारम्भिक परीक्षणमा उक्त खोपले बलियो प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरी लगभग शतप्रतिशत सुरक्षा दिएको बताइएको छ।
यद्यपि, उक्त खोपलाई मानव परीक्षणका लागि तयार गर्न अझै सातदेखि नौ महिना लाग्न सक्ने अनुमान गरिएको छ। अनुसन्धानकर्ताहरूले भने यो समयावधि छोट्याउने प्रयास गरिरहेका छन्।
कोरोना महामारीका बेला चर्चामा आएको एमआरएनए प्रविधि प्रयोग गर्दै मोडेर्नाले पनि बुन्डिबुग्यो प्रजातिविरुद्ध खोप विकास गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकारी स्टेफेन बान्सेलले संक्रमण नियन्त्रण तथा जोखिममा रहेका समुदायसम्म सम्भावित खोप पुर्याउन तीव्र गतिमा काम भइरहेको बताएका छन्।
त्यसैगरी, कोरोना महामारीका क्रममा विकसित प्रविधिकै आधारमा अक्सफोर्ड विश्वविद्यालयले पनि नयाँ इबोला खोप तयार गरिरहेको छ। विश्वविद्यालयका अनुसार उक्त खोप आगामी दुईदेखि तीन महिनाभित्र क्लिनिकल परीक्षणमा प्रवेश गर्न सक्ने अवस्था पुगेको छ।
यी तीनवटै खोपको उद्देश्य मानव शरीरलाई ‘बुन्डिबुग्यो ग्लाइकोप्रोटिन’ नामक भाइरसको बाहिरी संरचना पहिचान गर्न सिकाउनु हो। यसबाट शरीरको प्रतिरक्षा प्रणालीले वास्तविक संक्रमण हुनुअघि नै भाइरसविरुद्ध लड्न आवश्यक क्षमता विकास गर्न सक्छ।
विज्ञहरूका अनुसार विभिन्न प्रविधिमा आधारित खोपहरूले कति प्रभावकारी सुरक्षा दिन्छन्, कति मात्रा आवश्यक पर्छ र कति समयसम्म प्रतिरक्षा कायम रहन्छ भन्ने विषय क्लिनिकल परीक्षणको नतिजापछि मात्र स्पष्ट हुनेछ। तर बढ्दो संक्रमण र मृत्युका घटनाले वैज्ञानिकहरूलाई सम्भावित महामारी नियन्त्रणका लागि यथाशीघ्र प्रभावकारी खोप विकास गर्न दबाब बढाएको छ। बिबिसि