महिनावारी महिलाहरूको प्राकृतिक प्रक्रिया हो । तर एकै महिनामा दुईपटक महिनावारी हुँदा धेरै महिलामा चिन्ता बढ्न सक्छ । कहिलेकाहीँ यो सामान्य हुन सक्छ, तर बारम्बार दोहोरिएमा स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ । सामान्यतः महिनावारी चक्र २८ दिनको मानिन्छ । तर २१ देखि ३५ दिनबिचको चक्रलाई पनि सामान्य नै मानिन्छ । यदि तपाईंको चक्र छोटो छ भने, तपाईंलाई महिनामा दुईपटक महिनावारी भइरहेको जस्तो लाग्न सक्छ । कहिलेकाहीँ, तनाव, आहार परिवर्तन वा अनिद्राले पनि महिनावारी अगाडि-पछाडि सर्न सक्छ । तर यदि यो समस्या रहिरह्यो भने, यो अनियमित महिनावारीमा पर्दछ ।
किन हुन्छ महिनामै दुईपटक महिनावारी ?
- हर्मोनल असन्तुलन (एस्ट्रोजेन र प्रोजेस्टेरोनमा गडबडी)
- पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)
- पाठेघरको फाइब्रोइड वा सिस्ट
- थाइराइड ग्रन्थिको समस्या
- अत्यधिक तनाव, अनिद्रा वा आहारमा परिवर्तन
कहिले चिन्तित हुने ?
यदि महिनामा दुईपटक महिनावारीसँगै:
- अत्यधिक रक्तस्राव भइरहेको छ,
- चक्कर आउने वा कमजोरी महसुस भइरहेको छ,
- पेट वा कम्मरमा असह्य दुखाइ छ,
- समस्या लगातार दोहोरिरहेको छ, भने चिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ ।
के गर्ने ?
- महिनावारीको चक्र नियमित रूपमा नोट गर्ने
- सन्तुलित आहार र पर्याप्त आराम गर्ने
- तनाव नियन्त्रण गर्ने
- समस्या दोहोरिएमा स्त्रीरोग विशेषज्ञसँग जाँच गराउने
समयमै पहिचान र उपचारले रक्तअल्पतासहित अन्य जटिलताबाट बच्न मद्दत गर्छ।
नोट: यो सामग्री सामान्य जानकारीका लागि मात्र हो । यो चिकित्सकीय परामर्शको विकल्प होइन । स्वास्थ्यसम्बन्धी कुनै समस्या वा जिज्ञासा भएमा चिकित्सकसँग परामर्श लिनुहोस् ।