काठमाडौँ । नर्सिङ पेशाको सेवा–सुविधा, पेसागत सम्मान र स्वास्थ्य सेवा प्रणाली सुधारका विभिन्न माग राख्दै साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटले आफ्नो अनसन अन्त्य गरेकी छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको वार्तापछि मन्त्रालयका अतिरिक्त सचिव डा। श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा, कानुन अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता रानाभाटले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाल तथा सम्बन्धित निकायका प्रतिनिधिहरू पनि सहभागी थिए।
सहमतिअनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न सात दिनभित्र कार्यदल गठन गरिनेछ। कार्यदलले छ महिनाभित्र प्रतिवेदन तयार गरी आवश्यक सुझाव सरकारलाई बुझाउनेछ।
यस्तै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड–२०७७ अनुसार नर्स–बिरामी अनुपात प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, आवश्यक दरबन्दी सिर्जना गर्ने तथा करार सेवालाई क्रमशः प्रतिस्थापन गर्दै स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने सहमति भएको छ। नर्सिङतर्फ नवौँ, दशौँ र एघारौँ तहका दरबन्दी सुनिश्चित गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
सरकारले जोखिमको प्रकृतिअनुसार नर्स तथा स्वास्थ्यकर्मीलाई कम्तीमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने कानुनी व्यवस्था गर्ने, ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ अवधारणालाई कार्यान्वयनमा ल्याउने तथा सबै अस्पतालमा ‘नर्सिङ प्रोसेस’ र ‘नर्सिङ केयर प्लान’ अनिवार्य लागू गर्ने प्रतिबद्धता जनाएको छ।
सहमतिमा एएनएमलाई उच्च नर्सिङ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था, विशेषज्ञ नर्स र एडभान्स प्राक्टिस नर्सजस्ता पद सिर्जना, नेपाल नर्सिङ परिषद् ऐन संशोधन तथा नर्सिङ र मिडवाइफ्री सेवासम्बन्धी छुट्टै कानुन निर्माण प्रक्रियालाई पनि प्राथमिकतामा राखिएको छ। साथै निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि सरकारी तालिम कार्यक्रममा सहभागी गराउने व्यवस्था मिलाइने उल्लेख छ।
रानाभाटले सेवा–सुविधा सुधार, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, पारदर्शी नियामक व्यवस्था तथा सुरक्षित र सम्मानजनक कार्य वातावरणको माग राख्दै आन्दोलन थालेकी थिइन्। स्वास्थ्य क्षेत्रका सरोकारवालाले भने सहमतिका बुँदाको प्रभावकारी कार्यान्वयन भए नर्सिङ पेशाको मनोबल बढ्नुका साथै बिरामीले पाउने सेवाको गुणस्तरमा पनि सकारात्मक सुधार आउने अपेक्षा गरेका छन्।