काठमाडौं - आइ यु सि डि अस्थायी परिवार नियोजनको साधनमध्ये एक हो । आइ यु सि डि एकपल्ट लगाएपछि १२ बर्ष सम्म गर्भ रहन दिदैन । तर चाहेको समयमा निकाल्न सकिन्छ र निकालेपछि गर्भधारण गर्न सकिन्छ । लामो समयसम्म गर्भान्तर चाहने साथै सन्तानको रहर पुगेकाहरुले स्थायी साधनको बिकल्पको रुपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
आइ यु सि डि महिलाको पाठेघरमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्धारा राख्न र झिक्न सकिन्छ । यो एक प्रभाबकारी र सुरक्षित साधन हो । यसमा कुनै पनि औषधि वा हर्मोन राखिएको हुदैन । कुनै पनि महिला सुत्केरी हुनासाथ यो साधन राख्न चाहेमा गर्भ जाचँ गर्ने समयमा नै चिकित्सकसँग परामर्श लिनुपर्छ ।
सुत्केरीको साल निकाल्नासाथ १० मिनेट भित्र, शल्यक्रिया गरेको समयमा सुत्केरी भएको ४ हप्तापछि पनि यो साधन राख्न सकिन्छ । यो साधन महिनावारी भएको १२ दिन भित्र अथवा यदि महिला गर्भवती नभएको एकिन भएमा जुनसुकै समयमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार लगाउन सकिन्छ ।
यो साधन लगाइसकेपछि केहि समयसम्म तल्लो पेट दुख्ने र महिनावारीको रक्तश्रावमा केहि घटबड जस्ता सामान्य असरहरु हुनसक्छ तर केहि समयपछि आफै हराएर जान्छ । सुत्केरीपछि बच्चालाई ४५ दिनको खोप लगाउने बेलामा स्वास्थ्यकर्मीबाट आइ यु सि डि बारे परामर्श लिन जरुरी हुन्छ । सो संस्थामा यो सेवा उपलब्ध भए तुरुन्तै लिन सकिन्छ । तर उक्त संस्थामा नभएमा नजिकै कहाँ र कहिले उपलब्ध हुन्छ भन्ने सोहि संस्थाबट जानकारी लिनुपर्छ ।