एजेन्सी । वैवाहिक जीवनमा खुसी नहुँदा तनाव बढ्ने मात्र नभइ यसले मृत्युको जोखिम पनि बढाउँन सक्छ । वैवाहिक जीवनमा खुसी नभएका वा विवाहसँग सन्तुष्ट नभएका पुरुषहरूमा स्ट्रोकको कारणले मृत्यु हुने सम्भावना बढी रहेको अध्ययनले देखाएको छ ।
इजरायलको तेल अवीव विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार त्यस्ता पुरुषहरूको मर्नेको सङ्ख्या १९ प्रतिशत रहेको दाबी गरेका छन् । जो मानिस आफ्नो विवाहमा सन्तुष्ट छैनन्, उनीहरूमा मृत्युको जोखिम धूम्रपान गरेजत्तिकै घातक हुने अनुसन्धानकर्ता डा. सहर लेव एरी बताउँछन् ।
अनुसन्धानका लागि अन्वेषकहरूले अचानक मृत्यु भएका दस हजार मानिसको ३० वर्ष पुरानो स्वास्थ्य डाटाको अध्ययन गरेका थिए । वैवाहिक जीवनमा दु:खी भएका स्ट्रोक वा हर्टअट्याकको कारण हुने मृत्युको जोखिम ६९ प्रतिशतसम्म रहेको अनुसन्धानले पत्ता लगाएको छ ।
विवाहित जीवनमा दुखी भएका कारण हुने मृत्युको जोखिम चुरोटको लत वा व्यायाम नगरेको कारण अकालमा हुने मृत्युको जोखिमसँग तुलना गर्न सकिन्छ । स्वास्थ्य रहनका लागि मानिसहरूलाई व्यायाम र धूम्रपानबाट टाढा राख्न प्रोत्साहित गरिन्छ । तर जर्नल अफ क्लिनिकल मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार वैवाहिक जीवनमा कसरी खुसी र सन्तुष्ट रहन सकिन्छ भन्नेबारे सल्लाह दिन पनि जरुरी देखिएको छ ।