काठमाडौं । चाँडै दाँत झर्ने मानिसमा स्मरण शक्ति कमजोर हुने वा डिमेन्शियाको जोखिम बढ्ने अमेरिकी अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । न्यु योर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार दाँत झरेसँगै कुनै पनि व्यक्तिको स्मृति र सोच्ने क्षमतामा असर पर्ने हुन्छ ।
प्रत्येक एक दाँत खस्दा जोखिम पनि बढ्दै जान्छ । दाँत झरेपछि, व्यक्तिलाई खाना चपाउन गाह्रो हुन्छ । खाना राम्रोसँग नचपाएको कारण शरीरमा पोषक तत्वहरूको कमि हुन्छ । वा गिजामा भएको समस्या वा रोग र स्मरण शक्ति घट्दै जानुबीच केही अन्य सम्बन्ध हुन सक्छ ।
दाँत र स्मरण शक्तिको बीचमा देखिएको यस प्रकारको सम्बन्धको सही कारण अझै थाहा हुन नसकेको अन्वेषकहरू बताउँछन् । अनुसन्धानको क्रममा तीस हजार ७६ व्यक्तिहरूमा १४ वटा अध्ययन गरिएको थियो । अध्ययनमा चार हजार ६ सय ८९ त्यस्ता व्यक्तिहरू पनि समावेश गरिएको थियो, जसको सोच्ने र बुझ्ने क्षमता निकै हदसम्म हराएको थियो ।
अध्ययनको परिणामअनुसार दाँत बिग्रिएको मानिसमा अल्जाइमरको जोखिम १.४८ गुणा बढी पाइएको थियो । त्यस्तै डिमेन्शियाको जोखिम १.२८ गुणा बढी थियो । अध्ययनका अन्वेषक डा.बेइ वूका अनसार हरेक वर्ष धेरै मात्रामा अल्जाइमर र डिमेन्शियाका समस्या देखापरिरहेको छ । ६५ वर्षको उमेरका हरेक १४ मध्ये एक र ८० वर्षमा हरेक ६ मध्ये एकमा डिमेन्शिया हुने पाइएको छ ।