नवलपरासी । नवलपरासी जिल्लास्थित कारागारमा कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता छ तर हाल चार सय ९८ कैदीबन्दी छन्। त्यहाँ क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।
कारागार प्रशासनका अनुसार धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको छ। पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन्। कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन्। जेलर पुनराम पौडेलका अनुार साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ्दै गएको हो।
पौडेलका अनुार मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरिएको छ। सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएको थियो। कैदीबन्दी बढ्दै जाँदा समस्या भएको हो। सेवा–सुविधाका हिसाबले अन्य जिल्लाका कारगारभन्दा राम्रो भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अप्ठ्यारो भएको पौडेल बताउछन्
“धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको सङ्क्रमण छिटो फैलिने जोखिम बढेको छ”, उनले भने। बेला–बेलामा देशका कतिपय कारागारमा हैजा, झाडापखलालगायत सरुवा रोगका कारण एकैपटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेको छ।
जिल्ला कारागारमा लागुऔषध कारोबारमा दोषी ठहरिएका कैदीबन्दी बढी छन्। खुला सिमानाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढी छ। बन्दी बढ्दै गए थेग्न गाह्रो हुने र अन्यत्र कारागारमा सार्नुपर्ने अवस्था आउन सक्ने कारागारका कर्मचारी बताउँछन्।