एजेन्सी । उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन्।
मदिराले मातेको एक अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मदोन्मत्त उसले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उसलाई बारबाट निष्काशन गरिएको थियो।
कथित अपराधी पत्ता लगाउन संघीय, स्थानीय र नगरपालिकाको समन्वयमा मन्त्रालयको अपराध अनुसन्धान निकाय र विज्ञ सेवाले घटनास्थलमा काम गरिरहेका जनाइएको छ।सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्दै नागरिक सुरक्षा कार्यालय र नगरपालिकाका अग्नि नियन्त्रकरूले अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन्।