काठमाडौँ । नेपालमा गर्भपतनसम्बन्धी कानुनको अपूर्णता र कठोरता आज पनि महिलाको स्वास्थ्य र जीवनमा खतरा बनेको छ ।
बुधबार स्वास्थ्य पैरवी समाजले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बर्सेनि विश्वभर ३ लाख ३१ हजार अनिच्छित गर्भधारण हुन्छ । जसमध्ये झन्डै ६० प्रतिशत गर्भपतनमा परिणत हुन्छन् र तीमध्ये झन्डै ४५ प्रतिशत असुरक्षित तरिकाले हुने बताए ।
उनले नेपालमा वार्षिक ६२२ जना महिलाको मातृ मृत्यु हुने गरेको बताए । डा. लालले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन आवश्यक भएको बताए । नेपालमा पनि अवस्था गम्भीर छ उनले भने सन् २०२२ मा गरिएको एक अध्ययन अनुसार, नेपालमा भएका कुल गर्भपतनमध्ये ५२ प्रतिशत असुरक्षित छन् । यसमा पनि १८ बर्ष मुनिका ५ प्रतिशत बालिका गर्भपतनका लागि आउने गरेका छन् । औषधि, जडीबुटी, पेटको मालिस, घरेलु विधि जस्ता अवैज्ञानिक माध्यमबाट गर्भपतन गराउने क्रम अझै नरोकिएको समेत जानकारि गराए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। टंक बाराकोटीले कतिपयले गर्भपतनलाई परिवार नियोजनको माध्यम ठान्ने भ्रम राखेको भन्दै सावधानी अपनाउन आग्रह गरे । “यो संवेदनशील विषय हो। गर्भपतन सुरक्षित र प्रमाणित विधिबाट मात्रै हुनुपर्छ,” उनले भने, “खुला सीमाबाट औषधिको अवैध प्रयोग बढ्दै गएकाले बिना दर्ता सञ्चालन हुने संस्थामाथि पनि खबरदारी आवश्यक छ ।”
परिवार कल्याण महाशाखाकी मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी श्रेष्ठका अनुसार, नेपालको संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व र प्रजनन अधिकार व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । उनि भन्छिन्, ''फ्रान्सले त, नेपालमा गर्भपतनलाई जोडेर महिलालाई मृत्यु दण्ड दिने ठाउँ समेत भन्ने गरेको छ ।'' डा. श्रेष्ठले यसमा पनि धेरै घटनाहरू बाहिर आएका छैनन् ,समाजको डर देखाई घटनाहरू लुकाइरहेका छन् । अझै कति महिलाहरू पीडित बन्न बाध्य भएका छन् । नेपालमा गर्भपतनसम्बन्धी कानुनको अपूर्णता र कठोरता आज पनि महिलाको स्वास्थ्य र जीवनमा खतरा बनेको उनको भनाई छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मीले प्रजनन अधिकारका क्षेत्रमा देखिएको समस्या समाधान गर्ने पक्षमा काम भइरहेको बताए । उनले ऐन संशोधनको काम भइरहेको बताउँदै विगतमा देखिएका समस्यालाई नयाँ संशोधित ऐन मार्फत सम्बोधन हुने बताए ।