काठमाडौं । कृषिमा अत्याधिक मात्रामा विषादीको प्रयोग एक गम्भीर समस्याको रुपमा देखा परेको छ ।
विषादीले स्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै प्रांगारिक खेती तर्फ जान सुझाव दिएको हो। जनस्वास्थ्यविद् डा। शरद वन्तले विषादीको प्रयोग र असुरक्षित व्यवस्थापनका कारण नेपालमा बढ्दो विषादीको समस्या जनस्वास्थ्यको चिन्ताको विषय बनेको बताए।
डा। वन्तले भने स्वास्थ्य प्रणाली भित्र विषादीले पारेको असर बारे तथ्यांक, अभिलेख राख्ने प्रणालीको पनि विकास भइसकेको छैन। यसले गर्दा जनस्वास्थ्यमा विषादीले कस्तो खालको असर गरेको छ भन्ने तथ्यांक छैन। तर पनि विषादीले जनस्वास्थ्यमा पार्ने समस्या भने छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माले कृषिमा हुने विषादी प्रयोगले तत्काल मात्र नभई दीर्घकालीन रुपमा समेत असर पुग्ने बताए। जमिनको उत्पादकत्व घट्दै गए भविष्यमा खाद्यान्नको महामारी आउन सक्ने उनले बताए।
परियोजना संयोजक दीक्षा काफ्लेका अनुसार विषादीले स्वास्थ्यमा दुई किसिमको असर गर्छ। पहिलो तत्कालीन र दोस्रो हो दीर्घकालीन। छालामा हुने विभिन्न प्रतिक्रिया र स्नायु सम्बन्धी समस्याहरु तत्काल पार्न सक्छ। कतियले त आत्महत्याको लागि पनि विषादीको प्रयोग गरिरहेका हुन्छन्। विषादीले दीर्घकालमा पार्ने प्रभावहरु भने बहुआयामिक हुन सक्छ। विषादीले शरीरको विभिन्न प्रणालीमा नकारात्मक असर पार्न सक्छ। स्नायु प्रणालीमा समस्या ल्याउनेदेखि क्यान्सर, छाला सम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोगदेखि नसर्ने रोगहरुलाई बढाउन सक्छ।
परियोजनाकै अर्को अध्ययनले २० वर्ष मुनिका गर्भावस्थामा विषादीको सम्पर्कमा नआएका आमाहरुको तुलनामा सम्पर्कमा आएका आमाहरुले कम तौल भएका बच्चाहरु जन्माउने जोखिम नौ गुणाले बढी देखिएको थियो। ३३ प्रतिशत महिलामा विभिन्न जटिलता देखिएको छ । उनिहरु कुनै न कुनै रुपमा रसायनिक विषादीको सम्पर्कमा आएका छन् ।
नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने विज्ञहरुले बताउँदै आएका छन्। चितवनका कृषकहरुलाई लक्षित गरी नेपाल जनस्वास्थ्य प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ। नीहरुलाई तालिम दिने, कसरी विषादीको प्रयोग न्यूनीकरण गर्ने, वैकल्पिक कुराहरु के हुन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर सैद्धान्तिक र व्यावहारिक तालिमहरु सञ्चालन गरिएको छ । बढ्दो विषादीको प्रयोग न्यूनीकरणका लागि प्रांगारिक अर्थात् अर्गानिक खेती एक मात्र विकल्प भएको नेपाल जनस्वास्थ्य प्रतिष्ठानको निष्कर्ष छ।