पछिल्लो समय बालबालिकामा दमको समस्या तीव्र रूपमा बढ्दै गएको छ। दम बाल्यावस्थामा देखिने एक प्रकारको दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग हो, जुन वृद्धावस्थामा देखिने दमभन्दा फरक प्रकृतिको हुन सक्छ। समयमै उपचार, सावधानी र नियमित निगरानी अपनाउन सके यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ। यो समस्या वातावरणीय प्रदूषण, कुपोषण, एलर्जीजन्य संवेदनशीलता र कमजोर प्रतिरक्षा प्रणालीका कारण उत्पन्न भइरहेको छ।
दम भनेको के हो ?
दम फोक्सो सम्बन्धी दीर्घकालीन रोग हो जसमा श्वासप्रश्वास गर्दा अप्ठ्यारो हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने र छाती कसिएको अनुभव हुने गर्छ। यो फोक्सोको एलर्जीले हुन्छ। यसमा श्वास नलीहरू सुन्निन जान्छन् र साँघुरा हुन्छन् जसले गर्दा सास फेर्न कठिनाइ हुन्छ। ठूला व्यक्तिमा हुने दम र बालबालिकामा हुने दम फरक हुन्छ ।
कस्ता बालबालिकामा दमको समस्या देखिन्छ ?
- वंशानुगत दम वा परिवारमा दमको पृष्ठभूमि भएका
- एलर्जीको समस्या भएका बच्चामा
- कुपोषणबाट ग्रसित
- धूम्रपान गर्ने अभिभावकसँग बस्ने
- समयभन्दा पहिले जन्मिएका
- जन्मजात मुटुरोगजस्ता समस्याहरू
दमका लक्षणहरू
- बारम्बार खोकी लाग्ने (विशेषगरी राति वा बिहान)
- सास फेर्न गाह्रो हुने
- सास फेर्दा सिसकारो जस्तै आवाज आउने (wheezing)
- छातीमा जकडिएको महसुस हुने
- सानो कसरत गर्दा पनि थकाइ लाग्ने
- बारम्बार निमोनिया वा स्वासप्रश्वासको संक्रमण हुने
- तोल नबढ्ने
बालबालिकामा किन बढ्दैछ दमको समस्या ?
बालबालिकामा दम बढ्नुको प्रमुख कारणहरूमा वायु प्रदूषण, घरभित्रको धुवाँ, धूलो र चिसो वातावरण, अनुचित खानपान, थोरै शारीरिक गतिविधि र आधुनिक जीवनशैली मुख्य हुन्। साथै, विरासतमा पाइएको एलर्जी वा दम पनि बालबालिकामा देखिन सक्छ।
साथै, बाल्यकालमा रोगप्रतिरोधी क्षमता बलियो हुने, रोगहरूको सम्पर्कमा कमी आउनुले पनि यो समस्यालाई बढावा दिएको छ । यस्तै, आमाको तनावपूर्ण जीवनशैली तथा गर्भावस्थामा गरिएको धूपमानले बच्चामा दमको जोखिम बढाउँछ । शिशुहरूलाई स्तनपान नगराई चाँडै नै ‘फर्मुला फिडिङ’ गराउने प्रचलन तथा चिकित्सकको परामर्शविना जथाभाबी एन्टिबायोटिकको प्रयोगले पनि बालबालिकामा दम रोगको जोखिम बढाइरहेको छ ।
यसको उपचार
दम पूर्णरूपमा निको हुने रोग होइन । यसको उपचार भनेको उचित व्यवस्थापनले यसलाई नियन्त्रण गर्नु मात्र हो । समयमै उपचार र सावधानी अपनाउँदा बालबालिकामा दम पूर्ण रूपमा निको हुन सक्छ। बारम्बार मुखले खाने औषधि प्रयोग गर्दा नकारात्मक असर निम्तिन सक्ने भएकाले इनहेलरको प्रयोगले उपचार गर्नुपर्ने हुन्छ । इनहेलर प्रयोगपश्चात् घाँटी कुल्ला गर्नुपर्छ ।
बालबालिकालाई धुलो, धुवा र चिसोबाट बचाउने, बच्चा वरिपरि धूमपान नगर्ने, घरको वातावरण सफा, सुगम र एलर्जी मुक्त राख्ने,नवजात शिशुलाई समयमा खोप लगाउने व्यवस्था मिलाउने,सन्तुलित आहार दिने। यदि दाम बढेको खण्डमा बालबालिकालाई नियमित रुपमा इनहेलर वा नेबुलाइजरको सहायताले औषधि दिइन्छ। चिकित्सकको सल्लाहअनुसार औषधिको मात्रा र समय निर्धारण गरिन्छ। एन्टी–एलर्जिक औषधिहरू, ब्रन्कोडाइलेटर र स्टेरोइड इनहेलर प्रयोग गरिन्छ।
के बच्चाको दम पूर्णरुपमा निको हुन्छ ?
धेरैजसो अवस्थामा बाल्यकालमा देखिएको दम उमेरसँगै घट्ने वा निको हुने सम्भावना रहन्छ। तर केहीमा दीर्घकालीन समस्या हुन सक्छ। उचित खानपान, व्यायाम, प्रदूषणबाट जोगिने उपाय र नियमित चिकित्सकको निगरानीले दम नियन्त्रणमा राख्न सकिन्छ।
कस्तो अवस्थामा जटिल बन्छ ?
यदि समयमै उपचार नगरेमा दमको समस्या जटिल बन्छ। बारम्बार दम अट्याक आउने, सास फेर्न निकै गाह्रो हुने, छिटो–छिटो सास फेर्ने, ओठ निलो हुने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरि अक्सिजन दिनुपर्ने पनि हुन सक्छ।
यदि रोग नियन्त्रणमा छैन भने श्वासप्रश्वास नली खुम्चिँदा त्यहाँ कीटाणुहरू उत्पन्न हुन्छन् र निमोनिया हुने सम्भावना हुन्छ । बच्चामा तत्काल सुधारजस्तो देखिए पनि केही अवधिपछि फेरि लक्षण देखिन्छ र पछि सीओपीडी अर्थात् श्वासप्रश्वासजन्य रोग देखिने सम्भावना हुन्छ ।
कसरी जोगाउने ?
- बच्चालाई धुलो, धुवाँ र एलर्जी गराउने वस्तुबाट टाढा राख्ने
- चिसोमा ननिस्कन दिने, तातो कपडा लगाइदिने
- घर सफा राख्ने, धूलो–माटो हटाउने
- धुम्रपान नगर्ने र बच्चा भएको कोठामा नधुवाउने
- रोग लाग्नुअघि नै एलर्जी परीक्षण गर्ने
- चिकित्सकको सल्लाह अनुसार नियमित औषधि दिने
बालबालिकामा दम गम्भीर समस्या हो तर समयमै गरिएको उपचार, अभिभावकको सचेतता र सरसफाइ, पोषण तथा जीवनशैली व्यवस्थापनबाट यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ। जिम्मेवार अभिभावकत्वले बालबालिकालाई सहज र स्वस्थ जीवन प्रदान गर्न सकिन्छ।
(न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका बालरोग विशेषज्ञ डा.सुरेश प्रसाद शाह सँग महिला स्वास्थ्यका लागि संगीता कलौनीले गरेको कुराकानी आधारित् )