काठमाडौँ । रिस उठ्नु मानवीय स्वभाव हो । वयस्क वा बालबालिका - दुबैमा रिस आउने अवस्था आउन सक्छ । तर जब रिस नियन्त्रण बाहिर जान्छ, त्यसले बालबालिकाको मानसिक, सामाजिक र भावनात्मक विकासमा गम्भीर असर पार्छ । अभिभावकले यो स्वाभाविक भावनालाई बुझ्न र सही ढंगले व्यवस्थापन गर्न सके बालबालिकाको स्वभाव, अनुशासन र आत्मविश्वास दुवै सन्तुलित रहन्छ ।
बालबालिका किन रिसाउँछन् ?
बालबालिकाको रिस कुनै गल्ती होइन, यो उनीहरूको भावनात्मक विकासको स्वाभाविक हिस्सा हो । उनीहरूको मस्तिष्कमा निर्णय लिने र भावना नियन्त्रण गर्ने भाग ‘प्रिफ्रन्टल कोर्टेक्स’ पूर्ण विकसित नहुने भएकाले उनीहरू तत्काल प्रतिक्रिया जनाउँछन् ( चिच्याउने, रुने, सामान फाल्ने वा कसैलाई हानेर रिस देखाउने ।
रिसका कारणहरू धेरै हुन सक्छन् :
- शारीरिक आवश्यकता पूरा नहुनु – भोक, थकान वा निद्रा नपुग्दा बच्चा असहज महसुस गर्छ र रिसाउँछ ।
- अपेक्षा पूरा नहुनु – मागिएको कुरा नपाउँदा वा चाहना अस्वीकार हुँदा बालबालिकामा चिडचिडाहट बढ्छ ।
- वंशाणुगत प्रभाव – यदि आमाबुबा स्वयं रिसाहा स्वभावका छन् भने, त्यो गुण बच्चामा पनि सर्न सक्छ ।
- असन्तुलित पारिवारिक वातावरण – घरमा झगडा, गालीगलौज, तनावपूर्ण माहोल हुँदा बच्चा पनि अस्थिर र रिसाहा बन्छ ।
- सामाजिक र वातावरणीय असर – स्कूल वा टोलमा जिस्क्याउने, हेला गर्ने साथीहरूबाट बालबालिकाको आत्मसम्मानमा चोट पुग्छ, जसले रिसको रूपमा अभिव्यक्ति पाउँछ ।
- प्रविधिको असर – हिंस्रक गेम, भिडिओ वा सिरिज हेर्ने बानीले बालबालिकामा आक्रामकता बढाउँछ ।
- मनोवैज्ञानिक दृष्टिकोण
- मनोविज्ञानका धेरै सिद्धान्तहरूले बालबालिकाको रिस बुझ्न सहयोग गर्छन् ।
- फ्रस्ट्रेशन–एग्रेसन सिद्धान्त अनुसार, जब कुनै इच्छा वा अपेक्षा पूरा हुँदैन, असन्तुष्टि रिसमा परिणत हुन्छ ।
- मास्लोको आवश्यकता श्रेणी सिद्धान्त अनुसार, बच्चाको आधारभूत आवश्यकता — माया, सुरक्षा, ध्यान — पूरा नभए उनीहरू रिसमार्फत ध्यान खिच्न खोज्छन् ।
- एरिक्सनको विकास सिद्धान्त भन्छ, साना बालबालिकाले स्वतन्त्रता खोज्छन्स यदि उनीहरूलाई रोकियो भने उनीहरू जिद्दी र रिसाहा बन्छन् ।
- पियाजेको संज्ञानात्मक सिद्धान्त अनुसार, साना बालबालिकामा आफूकेन्द्रित सोच हुन्छ, जसले अरूको दृष्टिकोण बुझ्न कठिन बनाउँछ र सानो कुरामै रिस आउँछ ।
रिसको असर
रिसको अनियन्त्रित अभिव्यक्तिले बच्चाको व्यवहार, पढाइ र मानसिक स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।
- आत्मविश्वास घटाउँछ,
- सामाजिक सम्बन्ध बिगार्छ,
- चिन्ता, अवसाद वा हिंस्रक स्वभावको जोखिम बढाउँछ ।
- कतिपय बालबालिकाले रिस देखाउने आफ्नै शैली अपनाउँछन् — कोही रुन्छन्, कोही बोल्न छोड्छन्, कोही भुइँमा लड्छन्, सामान फाल्छन्, वा टोक्ने, हान्ने गर्छन् ।
कसरी नियन्त्रण गर्ने ?
१. कारण पत्ता लगाउने
बालबालिका किन रिसाइरहेका छन् भन्ने बुझ्नु सबैभन्दा जरुरी हो । कहिलेकाहीँ यो मानसिक वा भावनात्मक समस्या पनि हुन सक्छ । यस्तो अवस्थामा मनोवैज्ञानिकको सल्लाह लिनुपर्छ ।
२. सहज वातावरण सिर्जना गर्ने
बालबालिकालाई सुरक्षित, माया र सम्मानले भरिएको वातावरण दिनुपर्छ । घरमा झगडा, गाली वा डरको माहोलले उनीहरूलाई अस्थिर बनाउँछ ।
३. संवाद र सुन्ने बानी
बच्चाको कुरा ध्यानपूर्वक सुन्नुहोस् । उनीहरूको समस्या वा माग के हो भन्ने बुझ्नुहोस् । सम्भव नभए कारण विनम्रतापूर्वक बुझाउनुहोस् — कठोर शब्द होइन, मृदु व्यवहार अपनाउने ।
४. राम्रो व्यवहारको प्रशंसा गर्ने
बालबालिकाले राम्रो काम गर्दा स्याबास भन्ने, साना उपलब्धिमा पनि खुसी देखाउने । यसले उनीहरूलाई सकारात्मक व्यवहार दोहोर्याउन प्रेरित गर्छ ।
५. आफू आदर्श बन्ने
बालबालिकाले सुन्दैनन्, ‘हेर्छन्’। यदि आमाबुबा रिसमा नियन्त्रण गर्न सक्छन् भने, बच्चा पनि त्यसै सिक्छ । तपाईंको शान्त स्वभाव नै उनको पाठशाला हो ।
६. दिनचर्या र जीवनशैली सुधार्ने
पर्याप्त निद्रा, पौष्टिक आहार, खेलकुद र मनोरञ्जनका लागि समय छुट्याउनुहोस् । शारीरिक र मानसिक सन्तुलनले रिस घटाउँछ ।
७. रिसलाई बुझ्ने र नाम दिने अभ्यास
बच्चालाई सिकाउने — “तिमी अहिले रिसाएका छौ, तर त्यसलाई नियन्त्रण गर्न सक्छौ।” यसरी भावना बुझ्न र नाम दिन सिक्दा उनीहरूले नियन्त्रण गर्न सजिलो महसुस गर्छन् ।
बालबालिकाको रिस दमन होइन, बुझाइ र मार्गदर्शन चाहिन्छ । माया, संवाद, धैर्य र सकारात्मक व्यवहार नै रिस नियन्त्रणको सबभन्दा प्रभावकारी औषधि हो । रिसाइरहेको बच्चा अनुशासन खोज्दै होइन, बुझाइ खोज्दै हुन्छ । त्यसलाई माया र समझदारीले जवाफ दिन सक्नु नै साँचो अभिभावकत्व हो ।