काठमाडौं । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो। यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ। सरकारले डेंगीविरुद्ध सचेतना स्थानीय तहहरूसँग मिलेर गर्ने बताएको छ।
डेंगी संक्रमणका कारण सन् २०२४ मा विश्वभर ११ हजारभन्दा बढीको मृत्यु भएको थियो भने १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेंगी संक्रमण भएको थिए । यस्तै सन् २०२५ को मे महिनासम्ममा मात्रै ३३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटी जानकारि दिए।
उनका अनुसार नेपालमा डेंगी पहिलो पटक सन् २००२ मा चितवनमा एक विदेशी नागरिकमा पुष्टि भएको थियो। अहिले २०८१/०८२ सालमा मात्रै जेठ महिनासम्म ५० हजारभन्दा बढी संक्रमित भएका थिए र उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको बताए ।
डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म देखिने भएकाले साउनको सुरुवातदेखि नै यसविरुद्ध सचेतना फैलाउन लागिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए । “यो अभियान एकपटक गरेर पुग्दैन, नियमित रूपमा निरन्तर गर्नुपर्ने अभियान हो,” उनले भने। मन्त्री पौडेलले डेंगी नियन्त्रणका लागि पूर्वतयारी, जनचेतना, नियमित सरसफाइ तथा लामखुट्टे नष्ट गर्ने गतिविधिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
मन्त्रालयले चालु आर्थिक बर्षमा डेंगी नियन्त्रण गर्न १ करोड २० लाख ८४ हजार रकम विनियोजन गरेको थियो। डेंगी बढी देखिएको ४१० स्थानीय तहमा थप ४ करोड ६५ लाख ९३ हजार रकम दिएको थियो।
एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगी संक्रमण सन् २०१९ देखि बर्षेनी लगातार देखिने गरेको छ। यसका लागि तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सुरु हुने जनाइएको छ । जसमा ‘हरेक शुक्रबार सफा शुक्रबार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ नाराका साथ खोज र नष्ट अभियान सञ्चालन गर्ने, डेंगी नियन्त्रणको लागि रणनीति र समुदायस्तरमा गर्नु पर्ने गतिविधि बारे संघ,प्रदेश र स्थानीय तहहरूमा छलफल र पैरवी गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी हरेक वडामा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चारमाध्यमद्वारा डेंगीको जोखिम लक्षण र रोकथाम बारे जनचेतना अभियान सञ्चालन गर्ने स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।