चितवन । भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । मानसिक रोगको उपचारसँगै पुनर्स्थापनासहित जनचेतना बढाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो । नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको सहकार्यमा अस्पतालले सो केन्द्र स्थापना गर्न लागेको हो ।
संयुक्त राज्य अमेरिकामा रहेका मानसिक स्वास्थ्य क्षेत्रका चिकित्सक, परामर्शदाता र जनस्वास्थ्य विज्ञहरुको संस्था नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले केन्द्र निर्माणका लागि ५० प्रतिशत लगानी गर्ने सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ ।
अस्पतालका अध्यक्ष राजु पौडेलले केन्द्र स्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ खर्च लाग्ने र सो रकममध्ये इन्स्टिच्युटले आधा रकम लगानी गर्ने सम्झौता भएको जानकारी दिए । ‘इन्स्टिच्युटसँगै भरतपुर अस्पतालले पनि लगानीको २५ प्रतिशत र बाँकी २५ प्रतिशत विभिन्न दाताहरूसँग सहयोग जुटाउने गरी केन्द्र बनाउन लागेका छौँ । यो हामी डेढदेखि दुई वर्षभित्रमा सञ्चालनमा ल्याउने छौँ’, उनले भने ।
सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल एवम् इन्स्टिच्युटका तर्फबाट कार्यकारी निर्देशक डा। श्रीधर पौडेल र सदस्य डा। खगेन्द्र काफ्लेले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थ्यका क्षेत्रमा केही गर्ने उद्देश्यले आफूहरूले केन्द्र बनाउन लागेको जानकारी दिए ।
‘नेपालमा मानसिक स्वास्थ्यलाई त्यति प्राथमिकतामा नदेखिएको अवस्थामा हामीले यो काम अगाडि बढायौँ’, उनले भने, ‘नेपालमा मानसिक स्वास्थ्यको समस्या जटिल छ । यसलाई केन्द्रमा राखेर उपचार गर्नेदेखि पुनर्स्थापना गर्नेसम्मको काम हामी गर्ने छौँ ।’ केन्द्रले समुदायमा जनचेतना जगाउने आशा उनले व्यक्त गरे । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा मानसिक रोगको उपचारमा केन्द्र स्थापना गर्नु आफैँमा उपलब्धि हुने उनको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले मध्य नेपालमै सबैभन्दा बढी बिरामीले उपचार गराइरहेका भरतपुर अस्पतालमा छुट्टै मानसिक स्वास्थ्य उपचार केन्द्र आवश्यक रहेको बताए । ‘मानसिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अहिलेसम्म विभागबाट सञ्चालन गरिएको थियो । अब केन्द्रमार्फत सञ्चालन गरिने छ’, उनले भने ।
भरतपुर अस्पतालमा अहिले ट्रमा सेन्टर र स्पाइनल सेन्टर पनि छुट्टै केन्द्रका रुपमा विकास हुँदैछन् । मानसिक स्वास्थ्य उपचार केन्द्रको भवन निर्माण पूरा हुन करिब डेढदेखि दुई वर्ष लाग्ने बताइएको छ ।