काठमाडौँ । पानी पर्न थालेपछि काठमाडौँमा डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमा भन्दा बढी पानी पर्ने भनेपछि डेङ्गीको जोखिम झन बढ्ने महानगरले जनाएको छ । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्र्मीले आ–आफ्नो टोलटोलमा पानी जमेको स्थानको सरसफाइसमेत गरिरहेका छन् ।
विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेकोले सचेत रहन काठमाडौँ महानगरपालिकाले आग्रह गरिएको छ । पानी पर्न थाले पछि पानी जम्मा हुँदा त्यसमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ । डेङ्गी सार्ने लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने छ ।
डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछन् । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जमेको दाग देखापर्नेलगायत लक्षणहरु देखापर्छन् ।