दशैं भनेको नेपालीहरुको विशेष पर्व हो। दशैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् टिका, जमरा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला खानेकुराका विभिन्न परिकारहरुको कुरा नै आउँछन। पर्व मनाउने नाममा बिचार बिना खाने गर्दा ,खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । दीर्घ रोगी, पाको उमेर भएका र अन्यहरुले पनि पर्व मनाउँदा खानपानमा विशेष परहेज हुन जरुरी छ । खानपिनमा ध्यान नदिँदा दीर्घकालीन असर पर्ने खतरा हुन्छ ।
विशेषगरी दशैंमा माछामासुका परिकार बढि खाने गरिन्छ । सन्तुलित तरिकाले मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो भए पनि मासु बढी खाँदा ठूला स्वास्थ्य समस्या पनि आउन सक्छन् । रातो मासु, छाला वा त्यसमा हुने वोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोग समेत सर्ने संभावना उत्तिकै रहेको हुन्छ।
चाडर्पवको समयमा दैनिक कार्यमा परिवर्तन आएको हुन्छ जसले गर्दा मोटोपन बढने, रगतमा कोलेस्ट्रोल बढाउने, उच्च रक्तचाप, मधुमेह, युरीक एसिड बढेको पाईन्छ । अझै दशैंको समयमा मासुका परिकार खाने बेलामा ध्यान दिइएन भने त्यसले मुटुरोगी, मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्छ । दिर्घरोगिले रातो मासु, रक्सी तथा चिनीजन्य पेय पदार्थहरू खानु हुँदैन् ।
मधुमेहका बिरामिले कस्तो खाना खाने ?
मधुमेहका बिरामिले कस्तो खाना खाने वा नखाने भन्दा पनि कति मात्रा खाने भने हुन्छ । जसमा चिल्लो नखाने, भात धेरै नखाने, खानामा कार्बोडाइड्रेड भएको खाना कम खाने। कार्बोहाइड्रेटयुक्त खाना धेरै नखाई, गहुँ, मकै, बाजरा, खैरो चामल वा फापर जस्ता कम ग्लाइसेमिक सूचकांक भएका अन्न प्रयोग गर्नु उपयुक्त हुन्छ । चिल्लो कम खानुका साथै जैतुनको तेल, बदाम, बीउ, माछा वा एभोकाडो जस्ता स्वस्थ बोसो सिमित मात्रामा प्रयोग गर्न सकिन्छ ।
मधुमेह भएका बिरामीको थालमा आधा भाग (५० %) हरियो सागसब्जी वा सलाद (जस्तै करेला, काँक्रो, घिरौला, पालुङ्गो, रायो, काउली, गोलभेँडा, गाँजर, मुला आदि), चौथाई भाग(२५%) सिमित मात्रामा कार्बोहाइड्रेट (जस्तै खैरो चामल, गहुँ, मकै, बाजरा, फापर वा थोरै आलु) र बाँकी चौथाई (२५%) भाग प्रोटिन तथा स्वस्थ बोसो (जस्तै दाल, मासु, माछा, अन्डा, टोफु, दुध, बदाम, बीउ, चना, जैतुनको तेल वा एभोकाडो) राख्नुपर्छ । यसरी थाल विभाजन गरेर खाना खाँदा रक्तचिनी नियन्त्रणमा रहन्छ, साथै प्रशोधित खाना, बढी चिल्लो, चिनी र मीठा परिकारहरूबाट टाढा रहनु र नियमित पानी पिउनु तथा व्यायाम गर्नु पनि आवश्यक हुन्छ।
के खाने
- सन्तुलित भोजन : भातको सट्टा ब्राउन राइस, ओडस, मकै, जौ वा गहुँको ढिँडो जस्ता कम ग्लाइसेमिक फुड रोज्नु उत्तम हुन्छ।
- हरियो सागसब्जी र फलफूल : तोरीको साग, मुला, काँक्रो, टमाटर, कागती, अमिलो जातका फल जस्ता उच्च फाइबरयुक्त तरकारी रक्तशर्करा स्थिर राख्न मद्दत गर्छन्।
- प्रोटिनयुक्त परिकार: मासु खानु परे बोसो कम भएको कुखुरा, माछा वा दाल, चना ,दूध, दही, गेडागुडी, बदाम सीमित मात्रामा सेवन गर्न सकिन्छ।
- स्वस्थ स्न्याक्स: भुटेको चना, अखरोट, बदाम, दही, उमालेको अण्डा ,कोढोरफापर रोटी राम्रो विकल्प हुन्।
- पर्याप्त पानी : चिसो पेयको सट्टा साधारण पानी वा नरिवलको पानी, मोही पिउनु लाभदायी हुन्छ।
के नखाने
- चिनी र मिठाई: लड्डु, पेढा, रसगुल्ला, पेय पदार्थ, कोल्ड ड्रिंकजस्ता उच्च चिनी भएको खाद्यपदार्थ रक्तशर्करा तुरुन्तै बढाउँछ।
- धेरै बोसोयुक्त चौपायेको मासु (जस्तै खसी, रागा, सुंगुर), भुटेको तथा धेरै तेलमा पकाइएको खाना कम गर्नुपर्छ।
- मादक पदार्थ: रक्सी, बियर, मीठो ककटेलले इन्सुलिनको असर घटाउँछ।
- मैदाका परिकार: समोसा, पिठा, पुरी, पराठा जस्ता कार्बोहाइड्रेट बढी भएको परिकारबाट टाढा रहनु उत्तम।
- अत्यधिक प्रशोधित (high processed) खाना जस्तै प्याकेट चाउचाउ, बिस्कुट, चिप्स, डोनट्स, सोडा युक्त पेय पदार्थ (Carbonated/Soft Drinks), डिब्बाबन्द खाना, केक, पेस्ट्री, प्रोसेस्ड मासु (सस, सलामी, नगेट्स) जस्ता परिकारहरूबाट टाढा रहनुपर्छ ।
- यस्ता खानेकुरामा बढी नुन, चिनी, चिल्लो र कृत्रिम पदार्थ हुने भएकाले रक्तचिनी नियन्त्रण बिगार्छ र स्वास्थ्यमा दीर्घकालीन हानी पुर्याउँछ ।
फलफूल खाने समय र मात्रा
मधुमेहका बिरामीहरूले फलफूल त खान मिल्छ, तर कुन फलफूल कति खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । फलफूलमा कार्बोहाइड्रेटका साथै मिनरल्स र भिटामिन पनि पाइने भएकाले खान सकिन्छ । तर धेरै मात्रामा फलफूल खाइयो भने पनि शरीरमा सुगर लेभल बढ्छ । फलफूल खाँदा बिहान खालि पेट र राति सुत्ने बेला खानु हुदैन् । उच्च चिनी (high glycemic index) भएका फल जस्तै केरा, आम, अंगुर, लिची, खजुर कम वा कहिलेकाहीँ मात्र सेवन गर्नु उपयुक्त हुन्छ। बरु कम ग्लाइसेमिक सूचकांक भएका फल रोज्नुपर्छ, जस्तै– स्याउ, नास्पाती, सुन्तला, मौसमी, अम्बा (guava), कीवी, स्ट्रबेरी, ब्लुबेरी, डाडिम (pomegranate) आदि। । तर एकैचोटि धेरै मात्रामा नखाई सन्तुलन मिलाएर खानुपर्छ । चिनी हालिएका डिब्बाबन्द फल वा रस (fruit juice) खानु हुँदैन, किनभने यसले रक्तचिनी चाँडै बढाउँछ।मधुमेहको बिरामीले जुनसुकै फलफूल दिनमा एउटा खानु राम्रो हुन्छ । मधुमेह भएका बिरामीले फलफूल खानुपर्दा सधैं सानो मात्रामा र प्रोटिन वा नट्ससँग जोडी (pair) गरेर खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।
सुगर-फ्री खाना कतिको उपयोगि हुन्छ ?
अमेरिकन डायबिटिज एसोसिएसन (ADA) का अनुसार, मधुमेह भएका व्यक्तिहरूले सुगार–फ्री स्वीटनरहरू सीमित मात्रामा र सन्तुलित आहार योजनामा समावेश गर्न सकिन्छ। तर यी स्वीटनरहरूले रक्तचिनीमा तत्काल प्रभाव नगर्ने भए पनि दीर्घकालीन रूपमा तिनीहरूको प्रभावको बारेमा थप अनुसन्धान आवश्यक रहेको छ। यसैले, यी स्वीटनरहरूको प्रयोगमा मात्रामा सिमितता र विविध आहारको पालना महत्त्वपूर्ण छ। त्यस्तै, विश्व स्वास्थ्य संगठन (WHO) ले नन–सुगार स्वीटनरहरूको दीर्घकालीन प्रयोगबाट मोटोपना, टाइप २ मधुमेह, मुटु रोग र मृत्युदरको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। यस आधारमा, WHO ले तौल नियन्त्रणका लागि नन–सुगार स्वीटनरहरूको प्रयोग नगर्न सिफारिस गरेको छ। यसरी, मधुमेह भएका व्यक्तिहरूले सुगार–फ्री स्वीटनरहरूको प्रयोगमा सन्तुलन र सावधानी अपनाउनुपर्छ,
मधुमेहका बिरामीले ध्यान दिने मुख्य कुरा
- नियमित समयमै औषधि र इन्सुलिन प्रयोग।
- साना साना परिमाणमा बारम्बार खाने ।
- भोजमा जाँदा सानो प्लेट प्रयोग र भाग नियन्त्रण।
- सन्तुलित भोजन खाने ।
- राति ढिलो गरी भारी भोजन नगर्नु।
- फलफूल खाने समय र मात्रा मिलाउने ।
- समय समयमा सुगर जाँच गर्ने ।
- नियमित व्यायाम गर्ने ।
- धूम्रपान मद्यपान नगर्ने ।
- खानपान र जीवनशैली सुधार गर्ने ।
(न्यूरो कार्डियो एण्ड मल्टिस्पेशिलिटी हस्पिटलकी डाइटिसियन दिप्ती केसी संग गरेको कुराकानिमा आधारित)