काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सर नियन्त्रण तथा निवारणका लागि ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ। माघको अन्तिम सातादेखि देशभर खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ।
सोमबार आयोजित खोप अभियान बारे अन्तरक्रिया कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार एचपीभी खोप यसअघि अभियानका रूपमा सञ्चालन गरिएको भए पनि अब नियमित खोप सूचीमा समावेश गरिएको हो। “१० वर्ष पूरा भएका वा कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप दिइनेछ,” उनले बताए।
डा. गौतमले खोपको सुरक्षा र प्रभावकारिताबारे फैलाइएका अफवाहप्रति ध्यानाकर्षण गराउँदै खोप ऐन तथा नियमावलीअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट गुणस्तर प्रमाणीकरण भएपछि मात्र खोप प्रयोग गरिने स्पष्ट पारे। “कुनै पनि खोप प्रयोगमा आउनुअघि कम्तीमा १० वर्षभन्दा लामो परीक्षण प्रक्रिया पूरा गरिएको हुन्छ,” उनले भने। नेपालका सबै जिल्ला तथा स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका भए पनि त्यसको निरन्तरता कायम राख्नु अझै चुनौतीपूर्ण रहेको डा। गौतमले बताएका छन्। उनका अनुसार पूर्ण खोपको उपलब्धि जोगाइराख्न सरकारलाई निरन्तर प्रयास गर्नुपर्ने अवस्था छ।
डब्लुएचओका डा. पवन उपाध्यायले एचपीभी खोप ट्रायलका लागि ल्याइएको भन्ने भ्रम निराधार रहेको बताउँदै बिना संकोच खोप लगाउन आग्रह गरे। उनका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर मात्र होइन, गुदद्वार, घाँटी तथा जननेन्द्रियसँग सम्बन्धित क्यान्सरबाट पनि जोगाउँछ।
नेपालमा हरेक वर्ष करिब २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र १ हजार ३१३ महिलाको यसै कारण मृत्यु हुने अनुमान छ। दैनिक औसत चार महिलाले यो रोगबाट ज्यान गुमाउने तथ्यांकले समस्या गम्भीर रहेको देखाउँछ। नेपालमा देखिने पाठेघरको मुखको क्यान्सरमध्ये ८० प्रतिशतमा एचपीभी भाइरसका १६ र १८ प्रकार जिम्मेवार छन्।
गत वर्ष माघ–फागुनमा अभियानकै रूपमा सञ्चालन गरिएको खोप कार्यक्रमअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १४ लाखभन्दा बढी किशोरीले खोप पाएका थिए, जसको कभरेज ९२ प्रतिशत रहेको थियो। स्वास्थ्य सेवा परिवार कल्याण महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायले नेपालको राष्ट्रिय खोप कार्यक्रम विश्वमै सफल कार्यक्रममध्ये एक रहेको बताए। “खोप रोक्ने होइन, रोगलाई शून्यमा झार्ने हाम्रो लक्ष्य हो,” उनले भने। डा. उपाध्यायका अनुसार अधिकांश खोप रोग लाग्नै नदिन प्रयोग गरिन्छ भने केही खोप रोगको गम्भीरता र जटिलता कम गर्नका लागि पनि दिइन्छ। यसले बालबालिकाको जीवन रक्षा मात्र नभई समग्र समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
नेपालमा विसं २०३४ सालदेखि सुरु भएको राष्ट्रिय खोप कार्यक्रममा हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप प्रयोग हुँदै आएका छन्। सरकारका अनुसार खोप कार्यक्रमको निरन्तरता र जनविश्वास कायम राख्नु अहिलेको मुख्य चुनौती हो।
खोप कार्यक्रमको प्रभावकारिता कायम राख्न सरकारले नीति, बजेट र व्यवस्थापनमा निरन्तर काम गरिरहेको उनले बताए। पछिल्लो तथ्यांकअनुसार गत वर्ष खोप कार्यक्रमका लागि २ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खर्च गरिएको थियो। कुल खर्चमध्ये ४२ प्रतिशत रकम नेपाल सरकारले व्यहोरेको हो, जसले खोप कार्यक्रममा सरकारको बढ्दो स्वामित्व र प्रतिबद्धता देखाउँछ। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार खोप कार्यक्रमको निरन्तरता, सही सूचना प्रवाह र जनविश्वास कायम राख्न सकेमा नेपालले दिगो विकास लक्ष्यअनुसार रोग नियन्त्रण तथा मृत्युदर घटाउने लक्ष्य समयअघि नै हासिल गर्ने सम्भावना रहेको छ।