काठमाडौं । गर्भ रहेको पहिलो ३ महिनामा १ केजीदेखि ३ केजीसम्म तौल बढ्नु आवश्यक हुन्छ । त्यसपछिका प्रत्येक महिनामा आधा–आधा केजी तौल बढ्दै गएमा त्यो पर्याप्त मानिन्छ । मोटी महिलामा भने आधा केजीको पनि आधा (चौथाइ केजी) प्रतिमहिना बढेमा पर्याप्त मानिन्छ ।
गर्भावस्थामा खानेकुरामा प्रोटिनको मात्रा एकदमै आवश्यक पर्ने गर्छ । प्रोटिनयुक्त खानेकुराले गर्भमा रहेको बच्चाको वृद्धि–विकासमा विशेष भूमिका खेल्नेगर्छ । त्यसकारण गर्भावस्थामा प्रोटिनयुक्त खानेकुराको आवश्यकता बढी पर्न गएको हो । सामान्यतया गर्भ रहेका वेला जुनसुकै खानेकुरामा त्यति रुचि नहुने भएकाले खानेकुराको मन नभएमा पनि प्रोटिनयुक्त खानेकुरा खानुपर्ने हुन्छ ।
खानेकुरामा त्यति मन नभए पनि आफ्नो तथा बच्चा दुवैको ख्याल गर्नका लागि खानेकुरा खाइरहनुपर्ने हुन्छ । सबै प्रकारका गेडागुडी, दही, माछा, मासु, अण्डाजस्ता खानेकुराहरू प्रोटिनयुक्त खानेकुराको उपयुक्त स्रोत हुन् । दैनिक रूपमा कम्तीमा एकपटक भए पनि प्रोटिनयुक्त खानेकुरा गर्भावस्थामा खानुपर्ने हुन्छ ।