काठमाडौं - सुत्केरी अवस्थामा परिवार नियोजन सेवा भन्नाले प्रसुती भएको एक वर्ष सम्मको अवधिलाई बुझिन्छ । महिलाको लागी यो समय परिवार नियोजन सेवा अपनाउनको लागि ज्यादै महत्वपूर्ण समय हो । यो अवस्थामा धेरैजसो महिलाहरू नचाहँदा नचाहँदै गर्भवती हुने गरेको पाइन्छ । महिलाले यो समयमा शिशुको स्वास्थ्यको लागि परिवार नियोजनको साधन प्रयोग गरेर आफ्नो इच्छा विपरितको गर्भावस्थालाई रोक्नु पर्दछ ।
शिशुले स्तन चुस्दा प्रोल्याक्टिन हर्मोन निस्कन्छ । यो हर्मोनले दूध उत्पादन गर्न मद्दत पु¥याउनुका साथै डिम्ब निष्कासन प्रक्रियालाई पनि बन्द गर्छ । त्यसैले प्रसुती भएपछि तुरुन्तै महिलाहरू गर्भवती हुन सक्दैनन् । यसको मुख्य कारण प्रोल्याक्टिन हर्मोन मात्र नभइ भुण्र गर्भमा हुँदा भुण्रको सालबाट निष्कासन हुने उच्च मात्राको प्रोजेस्टोन र इस्ट्रोजेन हर्मोन पनि हो । शिशु जन्मिएर साल झरेपछि प्रोजेस्टोन र इस्ट्रोजेन हर्मोनको मात्रा विस्तारै कम हुँदै जान्छ । तर स्तनपानको क्रममा निष्कासन हुने प्रोल्याक्टिन हर्मोनले केही अवधिसम्म सुत्केरी अवस्थामा महिलालाई गर्भवती हुनबाट रोक्छ ।
पुर्ण रुपमा शिशुलाई स्तनपान मात्र गराइरहेकी र महिनावारी नभएका ९८ प्रतिशत महिला गर्भवती हुन सक्दिैनन्। तर शिशुलाइ स्तनपान बाहेक अन्य खाना खुवाइरहेकी वा राम्रोसँग स्तनपान नगराएकी महिला प्रसुती भएको ४– ६ हप्ता पछि नै गर्भवती हुन सक्छन् ।
महिलाको प्रजनन् शक्ति कहिले फर्कन्छ भनेर धेरै जसो अनुमान गर्न गाह्रो हुन्छ । प्रसुती भएपछि महिनावारी भएको लक्षणहरू देखा नपरे पनि महिलाको डिम्ब निष्कासन हुन सक्छ वा महिलाको प्रजनन् शक्ति फर्कन सक्छ । त्यसैले महिलाहरूले अनिच्छित गर्भबाट बच्नको लागि आफूलाई उपयुक्त भएको परिवार नियोजनको साधनको छनौट गर्नु पर्दछ ।
गर्भपतन गराएको वा आफै भएको १० – १४ दिन पछि महिलाको प्रजनन् क्षमता फर्कन्छ । त्यसैले अनिच्छित गर्भलाई रोक्न गर्भपतन भएको ४८ घण्टा भित्र परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ । गर्भपतन भएको ६ महिना भित्र कुनै महिला पूनः गर्भवती भएमा त्यस्ता महिलालाई गर्भवतीसँग सम्बन्धित जटिलताहरू हुने सम्भावना हुन्छ ।