काठमाडौं - बजारमा पाईने “हाई फाईबर” लेबल गरिएका बिस्कुट भन्दा मौलिक रुपमा प्रयोग भई आएको बाली, फापरमा फाईबरको मात्रा बढी हुन्छ । यसमा अन्य विभिन्न पोषक तत्व हुनुका साथै थप चिनी तथा प्रिजर्भेटिभ रहित हुने भएकाले स्वास्थ्यवर्धक मानिन्छ । फाईबरले हाम्रो शरीरमा पाचन शक्ति प्रक्रियामा सुधार ल्याउने, ब्लड सुगर र कोलेस्टेरोल नियन्त्रण गर्ने र उचित तौल कायम गर्न मद्दत पुर्याउँदछ ।
फापर नेपालका विभिन्न ठाउँमा उमार्ने गरिन्छ र यसको खेती गर्न धेरै मेहनत पनि पर्दैन । फापरले शरीरमा रहेको बोसो र उच्च रक्तचाप घटाउन मद्दत गर्छ । यसमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामिन ‘सी’ को कामलाई बढाउन मद्दत गर्छ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फापरमा रहेको पौष्टिक तत्वले बुढ्यौलीको प्रक्रियालाई कम गराउने अनुसन्धानले देखाएको छ ।
जौमा जस्तै फापरमा पनि पर्याप्त मात्रामा म्याग्नेसियम हुन्छ । जसले शरीरका रक्तनलीलाई प्रभाव पारेर उच्च रक्तचाप कम गराउँछ । काठमाडौंका केही धनी मानिसलाई चिनीको रोग लागेपछि चिकित्सकहरु उनीहरुलाई फापरको रोटी खाने सल्लाह दिने गर्छन् ।
सोचाइको पेजबाट साभार