काठमाडौं - केमोथेरापी भन्नाले औषधिहरुको प्रयोगद्धारा क्यान्सरको उपचार गर्नु हो । यस उपचार विधिमा बिशेष प्रकारको औषधि प्रयोग गरिन्छ । यो औषधिले क्यान्सरका कोषहरुलाई मार्छ वा यसको बृद्धि हुनबाट रोक्छ । यो औषधिलाई एन्टि क्यान्सर ड्रग वा साइटोटोक्सिक ड्रग पनि भनिन्छ । बिरामीको आवश्यक उपचार गर्दा क्यान्सर प्रभाबित अंग, यसको प्रकार र अन्य भागमा फैलिएको वा नफैलिएको अवस्था हेरी आवश्यकता अनुसार एक वा एक भन्दाबढि एन्टि क्यान्सर ड्रगको प्रयोग गरिन्छ ।
केमोथेरापीको उपचारबाट क्यान्सर भएका बिरामीको शरीरमा अनियन्त्रित तथा अनावश्यक रुपमा बृद्धि भइरहेको क्यान्सरका कोषहरुलाई नाश गर्ने हुनाले चिकित्सा विज्ञानमा यसको ठुलो महत्व छ । क्यान्सर रोग निको पार्न, एक ठाउँमा भएको क्यान्सर अर्को ठाउँमा फैलनबाट रोक्न वा रोगको कारण उत्पन्न हुने दुखाई तथा पिडा कम गराउका लागी यसको प्रयोग गरिन्छ ।
केमोथेरापी प्रयोग गर्दा आवश्यकता अनुसार खाने चक्किको रुपमा वा सुइको माध्यमबाट बिरामीको मांशपेशिमा, छालामुनी वा रक्तनलिबाट दिइन्छ । सामान्यतय यो रोगको उपचार ३ वा ४ हप्ताको फरकमा पटक पटक गरी ६ पटकसम्म वा रोगको प्रकार हेरी त्यो भन्दा बढि समयसम्म दिनुपर्ने हुन सक्छ ।
विभिन्न रुपमा प्रयोग गरिएका एन्टि क्यान्सर ड्रग रगतसँग मिसिएर शरीर भरी फैलन्छ र क्यान्सर भएका कोषहरु नष्ट गर्दछ । यो औषधिले क्यान्सर नभएका अर्थात सामान्य कोषहरुलाई केहि मात्रामा असर गर्दछ र मार्दछ । केमोथेरापीले नष्ट भएका सामान्य कोषहरु पुन बन्न निश्चित समयको आवश्यकता पर्ने हुनाले केमोथेरापी केहि समयको फरकमा दिइन्छ ।
(बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालको लेखको केहि सम्पादित अंश )