काठमाडौँ । अहिले बजारमा आँपको सिजन छ । मौसम अनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक पनि मानिन्छ । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्छ । खाना राम्ररी खान जान्यो भने त्यो अमृत हो र खान जानेन भने विष हो । आँपको सिजनमा आँप खानु राम्रो हो तर आँपै मात्र खानु भने नराम्रो हो ।
मधुमेहका बिरामीले आँप खान हुँदैन भनेको सुनिन्छ । मधुमेहका बिरामीलाई प्रायः गुलियो फलफूल, विशेष गरी आँपबाट बच्न सल्लाह दिइन्छ । मधुमेह रोगीहरूका लागि आँप खानु जोखिम हुन सक्छ, किनकि यसमा प्राकृतिक चिनी हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिने र सही तरिकाले आँप खाँदा खासै असर पर्दैन । आँप खाएको बेला अन्य खानेकुरामा ध्यान दियो भने समस्या हुँदैन ।
आँपमा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मेटाबोलिज्म सुधार गर्छ र रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ । यदि मधुमेहका बिरामीहरूले आँपलाई सही समयमा, सीमित मात्रामा र सही खानाको संयोजनसँग सेवन गर्ने हो भने उनीहरूले कुनै हानिविना यसको स्वाद र पोषणको आनन्द लिन सक्छन् ।
मधुमेह रोगीहरूले आँप खाने सही मात्रामा र सही तरिका ?
आँपमा प्राकृतिक चिनी, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरको मेटाबोलिज्म सुधार गर्न मद्दत गर्छ । तर, मधुमेहका बिरामीहरूले भने यसलाई सोचेर बुझेर मात्रै सेवन गर्नुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स ९जीआई० मध्यम स्तरको हुन्छ । अर्थात् सीमित मात्रामा सेवन गरियो भने आँपले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउँदैन ।
सीमित मात्रामा सेवन गर्ने
दिनमा आधा कप (लगभग ७५–८० ग्राम) आँप खानुलाई सुरक्षित मानिन्छ । यसलाई धेरै मात्रामा खाँदा रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ ।
सही समयमा खाने
आँप दिउँसो वा बिहान खानुहोस्, ताकि शरीरले यसलाई पचाउन पर्याप्त समय पाओस् । रातमा आँप खानु हुन्न । किनकि यसले रगतमा चिनीको मात्रालाई असर गर्न सक्छ ।
फाइबरयुक्त खानेकुराहरूसँग खाने
आँपको ग्लाइसेमिक प्रभाव कम गर्न बदाम, बीउ, दही वा ओट्ससँग मिसाएर यसलाई खानुहोस् । आँप मात्रै खाँदा चिनीको मात्रा छिटो बढ्न सक्छ । त्यसैले यसलाई फाइबरयुक्त चिजहरूसँग मिसाएर खानु राम्रो हुन्छ ।
प्रशोधित आँपका उत्पादनहरू नखाने
प्याकेटमा आउने आँपको रस, जाम वा क्यान्डीमा उच्च मात्रामा चिनी हुन्छ, जुन मधुमेहका बिरामीहरूको लागि हानिकारक हुन सक्छ । ताजा आँप यसको सबैभन्दा राम्रो विकल्प हो ।