जाडो सुरु हुनासाथ धेरैले “मर्निङ वाक हिँड्दा चिसो लाग्छ, मुटुलाइ समस्या हुन्छ” भनेर आफ्नो नियमित व्यायामै छोडिदिन्छन्। तर यस्तो गर्नु ठीक होइन। जाडोमा शरीर चलायमान राख्न अझै आवश्यक हुन्छ, केवल केही सावधानी अपनाउनुपर्छ।
जाडो परेपछि हाम्रो शरीरका स(साना र मध्यम रक्तनली खुम्चिन्छन्। त्यसले रक्तचाप र मुटुको धड्कन अलि बढ्छ। रगतको बहावमा पनि गडबडी आउँछ, जसलाई टर्बुलेन्स भनिन्छ। यस्तो हुँदा मुटुले सामान्यभन्दा धेरै बल लगाउनुपर्छ, किनकि उसले शरीरलाई चाहिने अक्सिजन पुर्याउन बढी मेहनत गर्नुपर्छ।
चिसो मौसममा केही हर्मोन र रसायनहरूको उत्पादन पनि बढ्छ, जसले रगत जम्ने तत्व र रगतको बाक्लोपना ९भिस्कोसिटी० बढाउँछ। परिणामस्वरूप मुटुको धमनी र दिमागका रक्तनलीमा रगत जम्ने जोखिम बढेर हृदयघात वा स्ट्रोकको खतरा देखापर्न सक्छ।
तर यो जोखिम पूर्ण रूपमा स्वस्थ मानिसमा कमै हुन्छ। रक्तचाप, कोलेस्ट्रोल, र सुगर नियमनमा भएका व्यक्तिले त आफ्नो दैनिकी नै बदल्न आवश्यक पर्दैन। चिसोबाट जोगिनेुक्त उपाय अपनाएर बिहान हिँड्न निस्संकोच निस्कन सकिन्छ।
तर केही समूहका मानिसलाई भने जाडोमा बढी सावधानी चाहिन्छ—
- मुटुरोगी,
- पहिले हृदयघात, ब्लकेज वा बाइपास गराइसकेका,
- उच्च जोखिममा रहेका,
- अनियन्त्रित रक्तचाप, मधुमेह वा उच्च कोलेस्ट्रोल भएका,
- दीर्घरोगी, दमका बिरामी,
- ६५ वर्षभन्दा माथिका,
- र शारीरिक रूपमा कम सक्रिय व्यक्तिहरू।
यी व्यक्तिले घाम उदाएपछि मात्र हिँड्नु, चिसो अत्यधिक भए घरमै ट्रेडमिल प्रयोग गर्नु, साँझ-बिहान अत्यन्त चिसो समयमा ननिस्कनु राम्रो हुन्छ।
परिश्रमका काम-जस्तै भारी बोक्ने, गह्रौँ वस्तु धकेल्ने-अचानक गर्नु हुँदैन। लामो समय निरन्तर परिश्रमभन्दा बीचबीचमा आराम लिनुपर्छ। मर्निङ वाक अघि हल्का वार्मअप अनिवार्य जस्तै होस शरीरलाई विस्तारै चलायमान बनाएपछि मात्रै अघि बढ्नुपर्छ।
हिँड्न निस्कन्दा हल्का मनतातो पानी पिउनु फाइदाजनक हुन्छ, यसले डिहाइड्रेसन हुन दिंदैन। जाडोबाट जोगिन बाक्ला कपडा, टोपी, हातमोजा लगाउने, आवश्यक परे मास्क प्रयोग गर्ने।
संक्षेपमा– जाडोमा व्यायाम बन्द गर्ने होइन, सही तरिकाले, सही समयमा र शरीरअनुसार सावधानी अपनाएर निरन्तरता दिनु हो।